काठमाण्डौ । साझा यातायातले दोस्रो चरणमा ८० वटा विद्युतीय बस खरिद गर्ने तयारी थालेको छ। पहिलो चरणमा काठमाडौं उपत्यकामा बस गुडाउन सुरु गरेको साझाले दोस्रो चरणमा छोटो र लामो दूरीको लागि खरिद गर्ने भएको हो।
पहिलो चरणमा ४० वटा बस खरिद गरेको साझाले दोस्रो चरणका लागि उत्पादक कम्पनीसँग विस्तृत विवरण माग गरेको छ। पहिलो चरणमा खरिद गरेको ४० मध्ये ३ वटा काठमाडौंमा गुड्न थालिसकेका छन् भने ३७ वटा चीनमा निर्माणको अन्तिम चरणमा छन्।
नेपाल सरकारले २०७६ असार ३१ मा विद्युतीय परिवहन प्रवर्द्धन गर्न साझा यातायात सहकारी संस्था लिमिटेडमा ३ अर्ब लगानी गरेको थियो। जसअनुसार पहिलो चरणमा ८.५ मिटर लम्बाइको ४० बस खरिद गरेको थियो। ब्याट्रीबाट चल्ने बस प्रविधि नयाँ भएकोले साझा यातायातले तीन चरणमा विद्युतीय सवारी भित्र्याउने योजना बनाएको छ। पहिलो चरणमा चीनको नानजिङ्ग सहरस्थित सीएचटीसी कम्पनीको उत्पादन ल्याएको छ।
साझाले १०.५ मिटर र १२ मिटर लम्बाइका विद्युतीय बस खरिदको लागि स्पेसिफिकेसन माग गरेको छ। साझा यातायातले ८० बस खरिदका लागि स्पेसिफिकेसन माग गरेको छ। साझाले १०.५ मिटरका सहरी र लामो दूरीका कोचबस, १२ मिटरका सहरी र लामो दूरीका कोचबसको लागि स्पेसिफिकेसन माग गरेको छ।
कोचबस एउटा सहरबाट अर्को सहरमा पुग्नसक्ने खालको हुनुपर्ने शर्त राखेको छ। कम्पनीहरुले एलसी खोलेको १५० दिनमा बस डेलिभरी गर्नुपर्नेछ। कम्पनीहरुले साझा यातायातलाई ब्रान्ड, चौडाइ, लम्बाइ, ग्राउन्ड क्लियरेन्स, ड्राइभिङ मोटर, ब्याट्री, चार्जिङ सिस्टम, सिटलगायतका विषय बुझाउन आह्वान गरेको छ।
अर्थ चाैतारी ।