काठमाण्डौ । श्री स्टिल्सले नेपालमै पहिलो पटक आफ्ना उत्पादन भारत निर्यात सुरु गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका सेमरहवास्थित श्री स्टिल्स प्रालिले एक ट्रक स्टिल्स भारत पठाएको हो। श्री स्टिल्समा केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानी रहेको छ। उक्त कम्पनीले नेपालमा श्री स्टिल्स टीएमटी छड उत्पादन गर्दै आएको छ।
कम्पनीले नेपालमै पहिलो पटक छड निर्यात गर्न पाउँदा खुसी व्यक्त गरेको छ। कम्पनीले नेपालमा जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जानकारी गराएको छ। श्री स्टिल्सका ब्रान्ड मेनेजर दिपक साहले भारतमा कम्पनीका उत्पादन निर्यात सुरु भएको जानकारी दिए।
उत्पादन र गुणस्तरसँगै प्रवर्द्धनमा जोड दिँदै उद्योगले भारतको उत्तर प्रदेशमा बेलहिया नाकाबाट पहिलोपटक एक ट्रक अर्थात् करिब ३५ टनसम्म टीएमटी छड पठाएको छ। कम्पनीले आगामी दिनमा भारतबाट आएको मागअनुसार निरन्तरताका साथै निर्यात बढाउने जनाएको छ। कम्पनीका उत्पादन भूकम्प र अग्नि, प्रतिरोधात्मक रहेको दाबी गर्दै आकार र तौलमा एकरुपता रहेको उल्लेख गरेको छ।
कम्पनीको प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८०० सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्राण्ड रहेको दाबी गरेको छ।
‘बलियो र गुणस्तर निर्माणसँगै सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित उद्योगले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार उद्योगले आफ्नो उत्पादन अर्को देश अर्थात् भारत निर्यातको शुभारम्भ गरेको छ,’ कम्पनीले जरी विज्ञप्तीमा रहेको छ।

३ अर्ब लगानी ५ सयलाई रोजगारी
श्री स्टिलले तीन अर्ब लगानी रहेको यस उद्योगमा ५ सय जना प्रत्यक्ष रुपमा रोजगाररत छन् । ‘कहिले लोडसेडिङ, कहिले विद्युत ट्रिपिङको समस्या झेल्दै आएको उद्योगले कोरोना महामारीको पनि सामना गर्नुपर्यो’, उद्योगले भनेको छ, ‘यद्यपि विभिन्न समस्यासँग जुध्दै चुनौतीको सामना गर्दै आज अन्य देश निर्यातको शुभारम्भ गरेका छौँ।’
सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता रहेको कम्पनीले दाबी गरेको छ। कम्पनीले स्टिल्स मात्रै नभई रुपन्देहीलगायत देशकै उद्योगका उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउन सरकारसँगै सरोकारवालासँग आग्रह गरेको छ। कम्पनीले गुणस्तर र उत्पादनलाई कायम तथा वृद्धि गर्दै मुलुकलाई स्टिल्समा आत्मनिर्भर बनाउँदै विदेश निर्यातमा पनि वृद्धि गर्ने अभियानका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।
अर्थ चाैतारी ।