काठमाण्डाै । विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिरमा निक्षेपको ब्याजदर घटाउने भएका छन्। मंगलबार डेभलपमेन्ट बैंकर एशोशियसन र फाइनान्स एशोशियसनको मंगलबार बसेको बैठकले मुद्दती निक्षेपमा ब्याजदर घटाउने निर्णय गरेका हुन्।
मंसिरमा विकास बैंकहरुले मुद्दती निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बताए। उनका अनुसार सिडि रेशियो केहि सहज हुन थालेकोले संकेतिक रुपमा सामान्य ब्याजदर घटाउने निर्णय गरिएको हो।
यस्तै फाइनान्स कम्पनीहरुले पनि ०.१५ प्रतिशतदेखि ०.२० प्रतिशतसम्म ब्याजदर घटाउने निर्णय गरेको फाइनान्स एशोशियसनका अध्यक्ष सरोजकाजी तुलाधरले बताए। मंगलबार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोशियसनले भने मंसिरलाई ब्याजदर स्थिर राख्ने सहमति गरेको थियो। तर विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदर घटाउन थालेपछि अब वाणिज्य बैंकहरुलाई पनि ब्याजदर घटाउन दबाब परेको छ।
अहिले विकास बैंकहरुले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिँदै आएका छन्। अहिले बजारमा तरलता केहि सहज हुन थालेकोले पनि विकास बैंकहरुले निक्षेपको ब्याजदर समान्य रुपमा घटाउन लागेका हुन्। यस्तै फाइनान्स कम्पनीहरुले पनि साढे १३ प्रतिशतसम्म ब्याजदर दिँदै आएकोमा मंसिरबाट त्यो ब्याजदर घट्ने भएको छ।
अर्थ चाैतारी ।