logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याडको प्रबर्द्धनका लागि नीतिगत व्यवस्था गर्न विधायकहरूको प्रतिबद्धता

    पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याडको प्रबर्द्धनका लागि नीतिगत व्यवस्था गर्न विधायकहरूको प्रतिबद्धता

    2.1K
    SHARES
    पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याडको प्रबर्द्धनका लागि नीतिगत व्यवस्था गर्न विधायकहरूको प्रतिबद्धता

    काठमाण्डौ । महिलाहरूले महिनावारीका समयमा प्रयोग गर्ने घरेलु, पुनः प्रयोग गर्न सकिने र स्वस्थकर प्याडको उत्पादन बढाइ घरेलु उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा विधायकहरूले जोड दिएका छन् ।



    बुधबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको ‘महिनावारीको सवालः वर्तमान अवस्था र विधायकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसदहरूले नीतिगत रूपमै त्यस्ता उद्योगको प्रबर्द्धन गर्न तथा महिनावारीलाई मर्यादित र स्वस्थकर बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    कार्यक्रममा बोल्दै पूर्वमन्त्री सांसद हितबहादुर तामाङले देशभित्र सञ्चालनमा रहेका प्याड उद्योगलाई प्रबर्द्धन गरी स्वदेशी उत्पादनलाई नै प्रमुखताका साथ प्रयोगमा ल्याउन राज्यले नीतिगत व्यवस्था गर्न सक्ने बताए । ऐन, कानुन र विधेयक निर्माण प्रक्रियामा आफूहरूको प्रत्यक्ष संलग्नता रहने हुनाले महिनावारीको विषय संसद र सरकारको प्रमुख प्राथमिकतामा पर्नुपर्ने उनले बताए । सांसद तामाङले महिनावारी प्रक्रियाका बारेमा किशोरावस्था सुरु हुनुपूर्व नै बालबालिकालाई विद्यालय शिक्षा दिनुपर्ने र यसका लागि शिक्षानीतिमै व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

    यस्तै पूर्वमन्त्री सांसद जुलीकुमारी महतोले सरकारले छाउपडी व्यवस्था हटाउन काम गरेपनि महिनावारीका बेला प्रयोग गरिने प्याड र स्वास्थ्यको विषय सरकारको कम महत्वमा परेको स्वीकारिन । देशभित्रै रोजगारी सिर्जना गरी प्याड बनाउने सिपको प्रबर्द्धन र उत्पादन गर्ने उद्योगलाई विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो । सरकारले विद्यालयमा वितरण गर्न उपलब्ध गराएको प्याडसमेत उचितरूपमा वितरण हुन नसकेको उनले बताइन ।


    सांसद शुशिला श्रेष्ठले सरकारले विद्यालय क्षेत्रमा निःशुल्क वितरण गर्ने प्याड गुणस्तरीय नहुँदा झनै स्वास्थ्य समस्या बढ्ने भएकाले राज्य नै गम्भीर हुनुपर्ने तर्क राखिन ।

    सांसद ऐनबहादुर शाहीले महिनावारी र यसको स्वास्थ्यको विषय सार्वजनिक महत्वको र नीतिगत तहबाट काम गर्नुपर्ने विषय भएको औँल्याउँदै संसदमा आफ्नो शशक्त भूमिका रहने प्रतिबद्धता जनाए ।

    सांसद छिरिङ ल्यामु लामा तामाङले कतिपय समुदायमा महिनावारीका भेदभावजन्य क्रियाकलाप नहुने गरेका कारण महिनावारी स्वास्थ्यको विषय ओझेलमा परेको स्मरण गरे । उनले सामाजिक र धार्मिक समस्या नरहेका ठाउँमा शारीरिक समस्याबारे चेतना दिन आवश्यक रहेको औँल्याए ।

    सांसद निशा डाँगीले नेपालमा उत्पादन हुने प्याडमा लाग्ने कर मिनाहा गर्न संसदमा पहल गर्ने बताइन । उनले संसद भवनभित्रै पनि शौचालयमा प्याड नभएको जानकारी दिँदै सार्वजनिक स्थलमा निःशुल्क प्याड पाइने व्यवस्था गर्नुपर्नेमा जोड दिइन । सरकारले विद्यार्थीका लागि दिने प्याड स्वदेशी उत्पादन हुन सके स्वदेशी उद्योगको प्रबर्द्धन हुने उनको विश्वास थियो ।

    सांसद सपनाराज भण्डारीले सञ्चार माध्यममा समेत विदेशी उत्पादनको प्रचार प्रसार हुँदा नेपालमा उत्पादित प्याडको बजारीकरण हुन नसकेको बताए ।

    सांसद कल्पना मियाँ कुसारीले स्वेदशी उत्पादनमा विश्वास गर्ने परिपाटी नहुँदा पनि स्थानीय प्याड उद्योगहरू प्रबर्द्धन हुन नसकेकोमा चिन्ता व्यक्त गरिन ।

    सांसद अनिशा नेपालीले लाजको विषय र विभेदको विषय बनाइएको महिनावारीका बारेमा जनस्तरमा चेतना पु¥याउन नसकिएको बताइन् ।

    सांसद अमरबहादुर थापाले कुनै पनि देशको अर्थतन्त्र बलियो हुन सकेमात्र स्वदेशी उद्योग फस्टाउने उल्लेख गरे । संसदमा महिलाका विषय र महिनावारीका विषय आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

    सांसद आशा वि.क.ले महिनावारीका बारेमा विधेयक बनाएर प्रक्रियामा लैजान सांसदका हैसियतमा आफ्नो पूर्ण प्रयास रहने बताइन् ।

    महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालका संयोजक गुणराज श्रेष्ठले महिनावारीका बेला महिलामाथि हुने विभेदले संविधानले व्यवस्था गरेका १० वटा विभिन्न मौलिक हकको हनन गरेकोप्रति सांसदहरूको ध्यानाकर्षण गराए । उनले नेपालमा २७ वटा उद्योगले प्याड उत्पादन गर्ने गरेपनि प्रयाप्त नभएको र बजारीकरण हुन नसकेको बताए ।

    ग्लोबल एक्सन नेपालका निर्देशक बि.के श्रेष्ठले विद्यालय तहको पाठ्यक्रममा राखिँदै आएको महिनावारी स्वास्थ्यको विषय ऐच्छिक विषयमा पारिएकोप्रति आपत्ति जनाए । उनले देशैभरका विद्यालयमा महिनावारी शिक्षा आवश्यक रहेकोमा जोड दिए ।

    एक्सपोज नेपालका अध्यक्ष प्याडम्यान ज्ञान महर्जनले महिनावारीका बेला प्रयोग हुने अधिकांश प्याडमा ९० प्रतिशतसम्म प्लाष्टिकजन्य पदार्थको प्रयोग हुनेहुँदा यसले प्रजनन स्वास्थ्यसमेतमा असर गर्नेतर्फ सचेत गराए ।
    उनले कतिपय ‘डिस्पोजेबल प्याड’मा प्रयोग हुने डाइअक्सिन नामक केमिकल स्वास्थ्यका लागि हानिकारक रहेको बताए । महर्जनले एक्सपोज नेपालले उत्पादन र प्रबर्द्धन गर्दै आएको पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याडका बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रममा पत्रकारहरू मिनाकुमारी यादव, शोभा घिमिरे, प्रकाश बस्याल, यशोधा अधिकारी लगायतले महिनावारीका विषयमा सांसदको प्राथमिकतामा नपरेको, स्वस्थकर प्याड प्रयोगमा राज्यको ध्यान नपुगेको र महिनावारी स्वास्थ्यलाई महत्व नदिइएको बारे सांसदहरूसँग जवाफ मागेका थिए ।


    अर्थ चाैतारी
  • बुधबार, २२ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट