काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको थियो । असोज १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीले मागभन्दा बढी आवेदन परेपछि आज असोज १८ गते नै निष्काशन बन्द गर्ने भएको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा स्थानीयले खरिद नगरेको सेयरसहित ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कर्मचारीलाई भने प्रतिकित्ता २२५ रुपैयाँमा ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित राखिएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।