काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधिसम्बन्धी अध्ययन तथा अनुगमन गर्न समिति गठन गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिए । उनका अनुसार औषधि, उद्योग एवम् औषधिसँग सम्बन्धित निकायहरूको सञ्चालनको अवस्था, सेवाप्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्ड, औषधिको गुणस्तर, समस्या र चुनौती लगायतका विषयमा स्थलगत अनुगम गरी १५ दिनभित्र पेस गर्ने गरी समिति गठन गरिएको हो ।
समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने उनको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार समितिले दुई साताभित्र प्रतिवेदन मन्त्रालयमा पेस गर्नेछ ।
समितिका सदस्यमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधि, फार्मेसी काउन्सिलका प्रतिनिधि, अनुगमन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अनुगमन हुने जिल्लाको औषधि व्यवस्था विभागको कार्यालय प्रमुख रहेका छन् ।
अर्थ चाैतारी ।