logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • गुणाकर भट्टलाई देउवाले भने- तपाईंलाई गभर्नर बनाउँदैछौं, राम्रो काम गर्नू, अर्थतन्त्र सुधार्नू

    गुणाकर भट्टलाई देउवाले भने- तपाईंलाई गभर्नर बनाउँदैछौं, राम्रो काम गर्नू, अर्थतन्त्र सुधार्नू

    182
    SHARES
    गुणाकर भट्टलाई देउवाले भने- तपाईंलाई गभर्नर बनाउँदैछौं, राम्रो काम गर्नू, अर्थतन्त्र सुधार्नू

    काठमाण्डौ । सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भएको भागबण्डामा नेपाल राष्ट्र बैंकको १८औं गभर्नर कांग्रेस निकट व्यक्तिलाई बनाउने सहमति भइसकेको छ । बुधबार प्रधनम्नत्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यस्तो सहमति भएको थियो ।



     

    गभर्नर आफ्नो भागमा परेपछि सभापति देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई बिहिबार बिहान निजी निबासमै बोलाएर अर्थतन्त्रको बारेमा ब्रिफिङ लिएका थिए । केही समय ब्रिफिङ लिएपछि ‘अर्थतन्त्रको अवस्था खासै राम्रो छैन, कांग्रेसले तपाईंलाई गभर्नर बनाउँदैछ, राम्रो काम गरेर अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने जिम्मा तपाईंको’ भनेका थिए । देउवाले यसो भनेपछि डा भट्ट खुसीले गदगद भए । ‘मेरो वुद्वि, विवेक र क्षमताले भ्याएसम्म राम्रो गर्छु, अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सरकार र राजनीतिक नेतृत्वले पनि सहयोग गर्नुपर्छ,’ जवाफमा भट्टले भने ।

    ‘ओलीजी र मबीच तपाईंलाई गभर्नर बनाउने सहमति भइसकेको छ’ भन्दै देउवाले देउवाले बधाई तथा शुभकामना दिँदै राम्रो काम गर्नु भनेर तेहेर्याए । गत सोमबार भएको एमाले सचिवालयको बैठकमा ओलीले गभर्नरमा छाड्ने प्रष्ट संकेत गरिसकेका थिए । ‘गभर्नरमा कांग्रेसले अडान छोडेन, यसैकारण सत्ता सहयात्रा टुंग्याउने कुरा हुन्न,’ ओलीले भनेका थिए । कांग्रेसका भागमा गभर्नर परेको समाचारहरु बाहिरिएपछि संस्थापनइतरका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले राम्रो मान्छेलाई गभर्नर बनाउन सार्वजनिक अभिव्यक्ति दिँदै दबाब बढाएका थिए ।

     

    गभर्नरमा बिचौलियाको चलखेल भएको भन्दै राष्ट्र बैंकको अनुभव भएको, अर्थशास्त्रको ज्ञान भएको र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई गभर्नर बनाउनुपर्ने निरन्तर दबाब बढाएका थिए । माओवादी अध्यक्ष प्रचण्डले समेत छिटो र राम्रो मान्छेलाई गभर्नर नियुक्ति गर्न दबाब बढाइरहेका थिए । यस्तो अवस्थामा सभापति देउवाले भट्ट बाहेक अरुको नाम सोच्नै सकेनन् । किनभने भट्ट यी सबै गुण भएका व्यक्ति हुन् । त्यसैले गुणाकरलाई बनाउँदा विवाद नहुने भएपछि देउवाले दायाँबायाँ केही नसोची उनलाई अघि बढाएका हुन् ।

     

    कांग्रेसबाट पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री, राष्ट्र बैंकका सञ्चालक रवीन्द्र पाण्डे, बहालवाला कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहेका नबिल बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्र ढुंगना गभर्नरका लागि आकांक्षी थिए । अरुको नाममा विवाद देखिने भएपछि देउवाले भट्टलाई अघि सारेका हुन् । देउवाले तपाईंलाई गभर्नर बनाउँदैछौं भनेपछि शुक्रबार कार्यालय खुल्नेबित्तिकै डा भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् ।

     

    ‘मैले कामू गभर्नरलाई राजीनामा बुझाइसकेको छु’ भट्टले भने । कार्यकारी निर्देशकले गभर्नर बन्न राजीनामा गर्नैपर्ने व्यवस्था भने ऐनमा छैन । गभर्नर नियुक्ति भएसँग कार्यकारी निर्देशकको पदबाटद स्वत राजीनामा भएको मानिनेछ । यद्यपि नैतिनकता देखाउँदै भट्टले राजीनामा दिएका हुन् । तर दिउँसो २ बजेसम्म कामू गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । आफैं गभर्नरको रेसमा भएकी तिम्सिनाले राजीनामा स्वीकृत नगरी बखेडा झिकेकी छिन् ।

     

    ‘गभर्नर बनाउन सक्नेले राजीनामा स्वीकृत पनि गराउन सक्छ भन्ने कुराको हेक्का नीलमजीले राख्नु पर्ने हो,’ राष्ट्र बैंकका ३ जना कार्यकारी निर्देशकले भने- ‘राजीनामा स्वीकृत गर्न बखेडा झिकेर नीलमजीले आफ्नो असली क्षमता र हैसियत देखाउनु भयो । कामू गभर्नर भइसकेको मान्छे ‘मुतको न्यानो’मा रमाउन खोज्दा उहाँ कुन स्तरको मान्छे हुनुहुँदो रहेछ भन्ने कुरा आम मानिसले बुझ्ने अवसर मिल्यो ।’ हालका प्रहरी प्रमुख आईजीपीको अवकासपछि हुने आईजीपी प्रधानमन्त्री ओलीको सिफारिमा हुनेगरी राष्ट्र बैंकको १८औं गभर्नर कांग्रेसले सिफारिस गरेको व्यक्तिलाई बनाउने सहमति अनुसार दुई नेता अघि बढिसकेका छन् ।

     

    नेपाल राष्ट्र बैंक ऐन २०५८ ले राष्ट्र बैंकको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) मा काम गरेको व्यक्ति गभर्नरको लागि आवश्यक कार्यअनुभाव हुने उल्लेख छ । तर, बहालवाला कार्यकारी निर्देशकलाई सिधै गभर्नर सिनयुक्त गर्न मिल्ने वा नमिल्ने भन्ने व्यवस्था कानुनमा स्पस्ट छैन ।

     

    यसअघि २०६१ मा विजयनाथ भट्टराई गभर्नर बन्दा महान्यायधिवक्ताले दिएको रायलाई देखाएर कार्यकारी निर्देशक गभर्नर बन्न नमिल्ने भन्दै चर्चा हुँदै आएको छ । तत्कालिन समयमा गभर्नरको लागि डेपुटी गभर्नर रहेको विजयनाथ भट्टराई र राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका डा. युवराज खतिवडा पनि गभर्नरमा सिफारिस भएका थिए । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बहाललावा कार्यकारी निर्देशकलाई गभर्नर बनाउने नहुने राय महान्याधिवक्ताले दिएको थियो । त्यसलाई देखाउँदै बहालवाला कार्यकारी निर्देशक गभर्नर नियुक्त गर्न नकिमल्ने बताइँदै आएको छ ।

     

    सोही कारण डा. गुणाकर भट्टले पनि गभर्नर नियुक्तिको लागि सिफारिस समितिले नाम सिफारिस हुनु अघि नै राजीनामा दिएका छन् ।

     

    केन्द्रिय बैंकको बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, भुक्तानी प्रणाली र आर्थिक अनुसन्धान विभागको समेत प्रमुख भएर काम गरीसकेको भट्ट गभर्नरको लागि उपयुक्त हुने विश्लेषणको आधारमा प्रधानमन्त्री ओली र देउवा पनि भट्टलाई गभर्नर बनाउन सहमत भएका हुन् । राष्ट्र बैंकको महत्वपुर्ण विभागको विभागिय प्रमुख भएर काम गरीसकेको भट्ट कुनै पनि विभागमा नमुछिएका र अहिलेसम्म आफ्‌नो व्यवसायिक करियरमा ‘इन्टीग्रिटी’मा प्रश्न नउठेका व्यक्ति हुन् ।

     

    अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सरकारले गठन गरेको ३ सदस्यीय गभर्नर सिफारि समितिमा कांग्रेस निकट मानिएका पूर्वगभर्नर विजयनाथ भट्टराई र देउवा निकट रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् । राष्ट्र बैंक ऐनअनुसार बहालवाला डेपुटी गभर्नर मध्येबाट अनिवार्य १ जनासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने र सिफारिसमा परेका ३ मध्येबाट १ जनालाई सरकारले गभर्नर नियुक्त गर्नसक्ने छ । बहालवाला दुईवटै डेपुटी गभर्नर एमाले निकट हुन् ।

     

    ‘हाम्रो उदेश्य भनेको व्यावसायिक ढंगले अर्थतन्त्र हाँक्न सक्ने व्यक्ति गभर्नर हुनुपर्छ भन्ने हो,’ कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने- ‘त्यसका लागि पार्टीले सबैभन्दा उपयुक्त गुणाकरजीलाई ठान्यो ।’

     

    को हुन् भट्ट ?

    सुदूरपश्चिमका भट्ट नेपाली कांग्रेस निकट मानिन्छन् । उनको कांग्रेस सभापति शेरबहादुर देउवासँग सिधा पहुँच छ । देउवाले भट्टको परिवारले लगाएको एउटा गुन तिर्नुपर्ने बताउँदै आएको र उक्त गुन तिर्न गुणाकरलाई एउटा नियुक्त दिनुपर्ने बताउँदै आएका थिए । भट्टलाई डेपुटी गभर्नर बनाउन नसकेका देउवाले यसपटक गर्भनर बनाएर ‘एउटा पुरानो गुन’ तिर्न लागेका हुन् ।

    २०५७ असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका भट्ट २०७५ साल कात्तिक ६ गते कार्यकारी निर्देशक भएका हुन् । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर र अर्थशास्त्रमै पीएचडी गरेका छन् । भट्ट अर्थशास्त्र स्नातकोत्तरका गोल्ड मेडलिस्ट पनि हुन् । नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि देउवाले भट्टलाई बोर्डको अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव अस्वीकार गरेका भट्टको चासो गभर्नरमा थियो।

     

    राष्ट्र बैंकको शक्तिशाली विभागका कार्यकारी निर्देशक भएर काम गरेका उनले डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा अर्थमन्त्रालयको आर्थिक सल्लाहकार भएर समेत काम गरेका थिए । भट्ट धितोपत्र बोर्डको सञ्चालक भएर काम गरिसकेका व्यक्ति हुन् । राष्ट्र बैंकमा नियमन, बैंक सुपरिवेक्षण, आर्थिक अनुसन्धान र भुक्तानी प्रणाली विभागजस्ता शक्तिशाली विभागको प्रमुख भएर काम गरिसकेको छन् । अर्थशास्त्रको राम्रो ज्ञान भएका उनी उच्च नैतिक चरित्र भएका सालिन र नम्र स्वाभावका छन् । राष्ट्र बैंकमा अर्थशास्त्री नेतृत्व नहुँदा मुलुकको अर्थतन्त्र शिथिल भएको आम बुझाइ छ, यस्तो अवस्थामा राम्रो अर्थशास्त्रीको छवि बनाएका र अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका भट्टलाई कांग्रेसले गभर्नर बनाउन लागेको हो ।

     

    देशको केन्द्रीय बैंकको रुपमा काम कारबाही गर्ने राष्ट्र बैंकले नेपाली मुद्राको निष्काशन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरीवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्दछ । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो ।

     

    प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरुसँग नियमित छलफल, बजेट निर्माणदेखि मौद्रिक नीति तर्जुमासम्मको कार्यमा गभर्नर प्रत्यक्ष संलग्न हुन्छन् । यसैगरी देशविदेश भ्रमण, मौद्रिक निकाय तथा केन्द्रीय बैंक प्रमुखको रुपमा मिल्ने सम्मान र पहुँचजस्ता कारण राष्ट्र बैंकको गभर्नर सरकारको सबैभन्दा आकर्षक नियुक्तिमध्ये एक हो ।


    अर्थ चौतारी
  • शुक्रबार, ५ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved