logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • लुम्बिनी प्रदेशको आन्तरिक राजस्व १० महिनामा लक्ष्यको ३३ प्रतिशत सङ्कलन

    लुम्बिनी प्रदेशको आन्तरिक राजस्व १० महिनामा लक्ष्यको ३३ प्रतिशत सङ्कलन

    624
    SHARES
    लुम्बिनी प्रदेशको आन्तरिक राजस्व १० महिनामा लक्ष्यको ३३ प्रतिशत सङ्कलन

    काठमाण्डाै । लुम्बिनी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलनको अवस्था सुधार गर्न सकेको छैन । प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म अर्थात् १० महिनामा वार्षिक लक्ष्यको ३३.१२ प्रतिशतमात्रै आन्तरिक राजस्व सङ्कलन गरेको छ ।



     

    प्रदेश सरकारले चालु आर्थिक वर्ष चार अर्ब ७१ करोड २० लाख ८३ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १० महिनासम्ममा एक अर्ब ५६ करोड ६ लाख ११ हजार ८५२ रुपैयाँ सङ्कलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेशको आन्तरिक स्रोतमा उल्लेख भएका विभिन्न शीर्षकमध्ये तोकिएको लक्ष्यको ५० प्रतिशतसम्म पनि कुनै शीर्षकमा असुल हुन सकेको छैन । कुनै–कुनै शीर्षकमा लक्ष्यको १ प्रतिशत पनि सङ्कलन भएको छैन ।

     

    प्रदेश सरकारले कृषिमा लाग्ने आय करमा लक्ष्यको जम्मा शून्य दशमलव ८ प्रतिशत सङ्कलन गरेको छ । कृषि उत्पादन विक्री करमा लक्ष्यको २८.९१ प्रतिशत सङ्कलन भएको छ । नहर तथा कुलो उपभोक्ता बापतको शुल्क शीर्षकमा लक्ष्यको १३.९२ प्रतिशत राजस्व उठेको छ । शिक्षा क्षेत्रको आम्दानी शीर्षकमा लक्ष्यको ९.६४ प्रतिशत, परीक्षा शुल्कमा लक्ष्यको १०.१६ प्रतिशत र यातायात क्षेत्रको आम्दानी शीर्षकमा लक्ष्यको ४७.५ प्रतिशत सङ्कलन भएको छ ।

     

    यस्तै रेडियो एफएम सञ्चालन दस्तुरमा चालु आर्थिक वर्षको १० महिनासम्म कुनै पनि रकम सङ्कलन भएको छैन । टेलिभिजन सञ्चालन दस्तुरमा भने लक्ष्यको १८.६९ प्रतिशत सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयको जनाएको छ । यसैगरी सवारी चालक अनुमति पत्रमा लक्ष्यको ३४.४५ प्रतिशत, वन क्षेत्रको आयमा २३.५४ प्रतिशत सङ्कलन भएको छ ।

     

    कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनीका प्रमुख दीपक ज्ञवालीले प्रदेशले आन्तरिक राजस्वको लक्ष्य निर्धारण गर्दा वास्तविकभन्दा महत्त्वाकांक्षी सूची समेटेकाले यस्तो अवस्था देखिएको बताए । आगामी दिनमा राजस्व सङ्कलन विधि र रकम पनि पुनर्विचार गरेर राख्नुपर्ने उनको भनाइ छ ।

     

    लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा ४६.४६ प्रतिशत बजेट खर्च भएको छ । वैशाख मसान्तसम्ममा पुँजीगततर्फ ४५.५० प्रतिशत र चालुतर्फ ४८.११ प्रतिशत खर्च भएको छ । लुम्बिनी प्रदेश सरकार प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले प्रदेशको आन्तरिक राजस्व सङ्कलनको माध्यम अझै बलियो नभएका कारणले समस्या परेको बताए ।


    अर्थ चाैतारी
  • बुधबार, ७ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट