काठमाण्डाै । नेपाल सरकारका पर्यटन राज्य मन्त्री अरुण कुमार चौधरीलाई समर्पकमा आउन भन्दै कैलालीको एक सहकारीले ७ दिने सूचना निकालेको छ ।
कैलालीको लम्कीमा कार्यलय रहेको बलिया बचत तथा ऋण सहकारीले आज एक सूचना जारी गर्दै मन्त्री चौधरी दम्पती सहित २० जनालाई सूचना निकालेको हो । सूचनाको क्रम सं. १९ नम्बरमा राज्यमन्त्री चौधरी २० नम्बरमा उनकी पत्नी सरस्वती चौधरी रहेका छन् ।
मन्त्री चौधरीका दम्पतीले सहकारीबाट विना धितो जनहि २ लाख रकम पाउने व्यवस्था अनुसार पति र पत्नीका नाममा ४ लाख लगेको र २ वर्ष देखी हालसम्म किस्ता नतिरेको र संस्थाको सम्पर्कमा नआएकाले सूचना निकालिएको संस्थाका व्यवस्थापक ललित न्यौपानेले बताए । मन्त्री चौधरीले संस्थालाई उपलब्ध गराएको फोन सधैँ बन्द रहने र मन्त्रीका स्वकीय प्रसिद्ध चौधरीले फोन नउठाएको न्यौपानेको भनाइ छ ।
मन्त्री चौधरी घर आउँदा बारम्बार भेटेर कर्जा नवीकरण गर्न अनुरोध गरेको तथा व्याज साँवा भुक्तानीका लागि ताकेता गर्दा पनि कुनै चासो नदिएको तथा हाल लम्की चुहा नपा ४ स्थित मन्त्री चौधरीको घरमा ताला लगाएकाले बचत कर्ताको लगानीको सुरक्षाका लागि संस्थाले आवश्यक प्रक्रिया अपनाएको न्यौपानेले बताए ।
यस विषयमा अर्थ चौतारीले फोन गर्दा मन्त्री चौधरीले फोन नउठाएको तथा म्यासेजको कुनै प्रतिक्रिया दिएका छैनन् । राज्यमन्त्री चौधारी गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर २ बाट विजय भएका हुन भने कांग्रेस र एमालेको सत्ता समिकरणमा २०८० असारमा गठित वर्तमान सरकारमा उनी नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व गर्दै राज्यमन्त्री छन् ।
अर्थ चाैतारी ।