काठमाण्डौ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले करिब १० करोड रुपैयाँ बराबरको करछली प्रकरणमा बुटवलका एक व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।
भारतबाट पशुपन्छी आहाराको नाममा वस्तु आयात गरी गलत विवरण प्रस्तुत गरेर आन्तरिक बजारमा बिक्री गरेको आरोपमा अजय बैङ्गल स्टोर विरुद्ध राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० अनुसार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दर्ता गरिएको हो।
कार्यालयले गरेको प्रारम्भिक अनुसन्धान अनुसार अजय बैङ्गल स्टोरले ९ करोड ९९ लाख ८९ हजार ८४१ रुपैयाँ बराबरको कारोबारमा कर छली गर्न खोजेको पाइएको छ। उक्त कारोबारमा लाग्ने कर मात्रै ४ करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बराबरको छ।
सरकारले सो बिगो रकमसहित जरिवाना असुल गर्न र दोषीमाथि कैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो। सो कारोबारमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर (VAT), अन्तःशुल्क लगायत सबै करहरू समावेश गरिएको छ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले अवैध व्यापार, तस्करी तथा करछलीविरुद्ध विशेष निगरानी अभियान सञ्चालन गरिएको बताए।
उनले भने, “राजस्व सुरक्षाका लागि हाम्रो टोली निरन्तर सक्रिय छ। यस्ता कारबाहीहरू आगामी दिनमा अझ तीव्र पारिनेछन्।”
अर्थ चाैतारी ।