logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • किसान साकोसको मोबाइल एपबाट सदस्यका उत्पादनको डिजिटल बजार खुला

    किसान साकोसको मोबाइल एपबाट सदस्यका उत्पादनको डिजिटल बजार खुला

    884
    SHARES
    किसान साकोसको मोबाइल एपबाट सदस्यका उत्पादनको डिजिटल बजार खुला

    काठमाण्डौ । किसान बचत तथा ऋण सहकारी संस्था गैँडाकोट नवलपुरले आफ्ना सदस्यहरूको उत्पादनलाई डिजिटल रूपमा बजारसम्म पुर्‍याउने सेवा सुरु गरेको छ। संस्थाले बिजनेस डेभलपमेण्ट सर्भिस (बिडिएस) लाई मोबाइल एपमार्फत सञ्चालन गर्दै सदस्यका उत्पादन, सीप र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।



     

    ३१ वर्षअघि २५ सदस्यको संख्याबाट सुरु भएको किसान साकोस अहिले देशकै उदाहरणीय सहकारीमध्ये एक बनिसकेको छ। हाल यसमा करिब १ लाख सदस्य छन् र २५ वटा सहकारीलाई समेट्दै ४ अर्बको पूँजीसहित सेवा सञ्जाल विस्तार गरिएको छ। यसले एशिया–प्रशान्त क्षेत्रको गुणस्तर प्रमाणीकरण संस्था ‘एक्सेस ब्राण्ड’ बाट पाँच पटकसम्म प्रमाणिकरण पाइसकेको छ।

     

    नवीनतम ‘डिजिटल बिडिएस’ सेवाअन्तर्गत सदस्यहरूले घरमै तयार गरेका वस्तु—जस्तै अचार, कपडा, दही, घ्यू, हस्तकला आदि—मोबाइल एपको ‘लोकल प्रडक्ट’ खण्डमा दर्ता गर्न सक्नेछन्। उत्पादनको नाम, तस्बिर, मूल्य र सम्पर्क विवरण राखेर ग्राहकसँग सिधा सम्पर्क गर्न मिल्ने सुविधा उपलब्ध हुनेछ। यी उत्पादन किसान साकोसको वेबसाइटमा पनि हेर्न सकिन्छ।

     

    संस्थाले यो प्लेटफर्मलाई विशेषगरी महिला सदस्यहरूको आर्थिक सबलीकरण र आत्मनिर्भरता अभिवृद्धिमा उपयोगी हुने विश्वास लिएको छ। बजारमा नपुग्ने उत्पादनलाई मोबाइलमार्फत ग्राहकसम्म पुर्‍याएर स्थानीय उत्पादन र खपतलाई दिगो बनाउन योगदान पुग्ने संस्थाको दाबी छ।

     

    मोबाइल एपमा बिडिएस बाहेक मोबाइल बैंकिङ, रकम ट्रान्सफर, वालेट लोड, युटिलिटी बिल भुक्तानी, क्युआरमार्फत कारोबार, बीमा जानकारी, रेमिट्यान्स, बस तथा फ्लाइट बुकिङलगायत सेवा पनि समेटिएका छन्। कारोबारपछि विवरण र रकम आवाजमार्फत सुन्न सकिने सुविधा पनि एपमा राखिएको छ।

     

    संस्थाका अध्यक्ष भोजराज पौडेलका अनुसार डिजिटल बजारको अवधारणा केवल प्रविधिको प्रयोग मात्र नभई नयाँ आर्थिक युगको सुरुआत हो। प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले सदस्यलाई उद्यमशीलतामा लैजाने र सहकारीका सेवा केन्द्रलाई व्यवसाय प्रवर्द्धन युनिटका रूपमा विकास गर्ने योजना रहेको बताए।

     


    अर्थ चौतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट