काठमाण्डौ । आउँदो शुक्रबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेज इन्डियाको सयुक्त आयोजनामा यही १३-१५ भाद्रसम्म प्रदर्शनी आयोजना हुने भएको हो ।
प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरण तथा नेपाल सौर्य विद्युत् उत्पादक सङ्घले सहयोगी संस्थाको भूमिका निर्वाह गर्नेछन् । प्रदर्शनीमा १०० भन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीका स्टलहरू रहने आयोजकले जनाएको छ । जसमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका उत्पादनहरू प्रदर्शनीमा राखिनेछन् । यसमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, उर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङका सामग्री, तार, केबुल एवं कन्डक्टर र अत्याधुनिक प्रकारका स्विच लगायतका सामग्री राखिनेछन् । यस्तै एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेसन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्री पनि प्रदर्शनीमा देख्न पाइनेछ ।
मुलुकको आर्थिक सबलीकरण र ऊर्जा क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ प्रदर्शनीले आयोजना गरिएको आयोजकले जनाएका छन् । यसले विभिन्न विद्युतीय माध्यमहरूको प्रयोगमा वृद्धि गरी उत्पादित जलविद्युत् खपत बढाउन मद्दत गर्नेछ । साथै, यसले ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्धनमा पनि सहयोग पुर्याउनेछ ।
प्रदर्शनीले विद्युतीय उपकरणहरूलाई प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास गर्ने र यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धन गर्ने लक्ष्य राखेको छ । यस संस्करणमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा भेला गराई व्यावसायिक प्रवर्धन गर्ने लक्ष्य समेत छ ।
यसबाट यी उद्योगहरूमा भएका नवीनतम उपलब्धिहरूबारे सूचना आदानप्रदान गर्न तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्त्वबारे सन्देश फैलाउन सहयोग पुग्ने विश्वास आयोजकको छ । नेपालीहरूका ठुला चाडपर्वको सिजन नजिकिँदै गर्दा आयोजना हुने यो प्रदर्शनी उपभोक्ताहरूका लागि विशेष लाभदायी हुने ठानिएको छ । जहाँबाट ग्राहकले विभिन्न कम्पनीका विद्युतीय सामग्रीहरू एकै ठाउँमा हेर्न तथा आफूलाई मन परेको सामान सहज र सुलभ रूपमा खरिद गर्न सक्नेछन् ।
अर्थ चाैतारी ।