मोरङ । पूर्वाञ्चल ल्युव आयल लिमिटेडले आगामी कार्तिक २३ गते साधारण सभा आह्वान गरेको छ। कम्पनीले उक्त सभा मोरङको सुन्दरहरैचास्थित आफ्नै केन्द्रीय कार्यालयमा आयोजना गर्न लागेको हो।
सभामा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ। साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरी पारित गर्ने एजेन्डा सभामा समावेश छन्।
त्यस्तै, नयाँ सञ्चालक समिति चयन गर्ने, सञ्चालक तथा प्रबन्ध निर्देशकको भत्ता र पारिश्रमिक निर्धारण गर्ने, र आगामी वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि सभामा पेस हुने भएको छ।
कम्पनीले आईपीओ निष्काशनको तयारी पनि अघि बढाइरहेको छ। यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
सुन्दरहरैचा–९, मोरङ, विराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पूर्वाञ्चल ल्युव आयल विगत २५ वर्षदेखि ल्युब्रिकेन्ट उत्पादन र बिक्री वितरणमा सक्रिय छ। कम्पनीले नेपालमै ‘PLO’ ब्रान्डका विभिन्न प्रकारका ल्युब्रिकेन्ट उत्पादन गर्दै आयातित ब्रान्डहरूको विकल्पका रूपमा बजारमा आफ्नो स्थायी पहिचान बनाउन सफल भएको दाबी गरेको छ।
अर्थ चौतारी ।