काठमाण्डौ । कात्तिक ११ गतेदेखि साविक सिभिल बैंकले जारी गरेका चेकमार्फत भुक्तानी नहुने भएको छ। हिमालयन बैंक लिमिटेडले प्रयोग गरिरहेको कोर बैंकिङ सफ्टवेयर (CBS) टी२४ रिलिज आर२३ मा स्तरोन्नति गर्ने तयारीका कारण यसअघि साविक सिभिल बैंक तथा मर्ज/प्राप्ति भएका वित्तीय संस्थाहरूबाट जारी चेक प्रयोग गर्न नसकिने बैंकले जनाएको छ।
हिमालयन बैंकले जानकारी दिँदै भनेको छ, “कात्तिक ११ गतेदेखि टी२४ रिलिज आर२३ मा स्तरोन्नति हुने भएकाले साविक सिभिल बैंक र सोसँग मर्ज वा प्राप्त भएका वित्तीय संस्थाहरूले जारी गरेको कुनै पनि चेकबाट भुक्तानी हुने छैन।”
यस सन्दर्भमा बैंकले साविक सिभिल बैंक तथा मर्ज/प्राप्त भएका वित्तीय संस्थाका ग्राहकहरूलाई आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ चेकबुक लिन आग्रह गरेको छ।
बैंकले थप जानकारी दिँदै स्तरोन्नतिको तयारी अन्तर्गत कात्तिक ३ गतेदेखि १० गतेसम्म केही बैंकिङ सेवाहरू अस्थायी रूपमा बन्द रहने बताएको छ। उक्त अवधिमा काउन्टर तथा केही अनलाइन सेवा प्रभावित हुने भए पनि एटीएम, डेबिट र क्रेडिट कार्ड सेवा भने निरन्तर सञ्चालनमा रहनेछ।
सफ्टवेयर स्तरोन्नति सम्पन्न भएपछि हिमालयन बैंकले ग्राहकलाई अझ सहज, सुरक्षित र छरितो डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
अर्थ चौतारी ।