काठमाण्डौ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले बिहीबार प्रमुख राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ। आयोगले निर्वाचन प्रक्रियालाई प्रभावकारी, पारदर्शी र निष्पक्ष बनाउन दलहरूसँग सुझाव संकलन गर्दैछ।
छलफलका लागि आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने र गत निर्वाचनमा कम्तीमा एक वडामा विजयी भएका दलहरूलाई पत्राचार गरी आमन्त्रण गरेको थियो।
बैठकमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कवीन्द्र बुर्लाकोटी र नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायतका नेताहरू सहभागी थिए।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार छलफलमा आयोगले आसन्न निर्वाचन तयारी, समयतालिका, मतदाता नामावली अद्यावधिक, सुरक्षा व्यवस्था, आचारसंहिताको कार्यान्वयन लगायतका विषयमा जानकारी दिएका थिए। सहभागी दलका प्रतिनिधिहरूले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण बनाउन आवश्यक सुझावहरू पनि दिएका छन्।
निर्वाचन आयोगले निकट भविष्यमा थप प्राविधिक र व्यवस्थापकीय विषयमा समेत दलहरूसँग छलफल जारी राख्ने जनाएको छ।
अर्थ चौतारी ।