गुल्मी । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले मकैको पीठो ब्रान्डिङ र बजारीकरण सुरु गरेको छ। सहकारीले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगमार्फत मकैको पीठो उत्पादन गर्न थालेको हो।
सहकारीका अध्यक्ष हरि छन्त्यालका अनुसार बजारमा मकैको पीठोको माग बढ्दै गएपछि उद्योग स्थापनाको पहल गरिएको हो। यस उद्योग स्थापनामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले केही उपकरण अनुदानमा उपलब्ध गराएको थियो।
उद्योगका लागि मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ७३ लाख रुपैयाँ तथा साना किसान सहकारीबाट १६ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। भवन निर्माणदेखि उत्पादन र बजारीकरणसम्म करीब ९० लाख रुपैयाँ खर्च भएको सहकारीले जनाएको छ।
सहकारीले किसानबाट मकै प्रतिपाथी रु २०० मा खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पुर्याउने गरेको छ। हाल बजारमा मकैको पीठो प्रतिकिलो रु १३० मा बिक्री भइरहेको छ। सहकारीले २५ किलोको प्याकेज समेत उपलब्ध गराएको छ।
सहकारीका व्यवस्थापक विवेक पेमीका अनुसार यस वर्ष ३५ टन मकैको पीठो बिक्री गर्ने लक्ष्य लिइएको छ। हाल सहकारीमा करिब ३०० किसान आबद्ध रहेका छन्।
अर्थ चौतारी ।