काठमाण्डौ । गत असोजमा आएको बाढी र पहिरोले देशभर ठूलो जनधन क्षति पुर्याएको थियो। त्यसको कारण बीमा कम्पनीहरूमा हालसम्म रु ३ अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ।
बीमा प्राधिकरणका अनुसार, असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाका कारण विभिन्न जिल्लामा भएको क्षतिको बीमा दावीका ४३४ वटा आवेदन दर्ता भएका छन्।
क्षति दावीमध्ये ३८२ वटा सम्पत्ति बीमा, ९२ वटा इञ्जिनियरिङ तथा ठेकेदार जोखिम, २०९ कृषि तथा बाली बीमा, ३७ मोटर बीमा निजीतर्फ, १० सार्वजनिक मोटर बीमा, १ अन्य बीमा र ३ वटा सामुन्द्रिक बीमा रहेका छन्।
कूल ३७ जिल्लाबाट क्षतिको विवरण आएको छ। तीमध्ये सुनसरी जिल्लाबाट सबैभन्दा धेरै १९७ वटा बीमा दावी परेको छ। यस्तै, इलाममा ६०, काठमाडौँमा ८०, मोरङमा ९०, झापामा २०, पर्सामा ७१, र रौतहटमा २८ दावी परेको प्राधिकरणले जनाएको छ।
यसअघि, भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको बीमा दावी रु २३ अर्ब २३ करोड बराबर पुगेको थियो। त्यस्तै, गत असारको बाढी पहिरोका कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावी परेको थियो।
प्राकृतिक जोखिमका घटनामा बृद्धिसँगै बीमा दावीको आवेदन पनि पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको प्राधिकरणले जनाएको छ। हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा निर्जीवन लघुबीमा कम्पनीहरूमा दावीका आवेदन दर्ता भएका छन्।
अर्थ चौतारी ।