काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले अब आर्थिक निर्णयहरू तत्काल कार्यान्वयनमा लैजाने प्रणाली विकास भइसकेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालयले अब कुनै पनि विषयमा छलफल, निर्णय र कार्यान्वयन एकैसाथ अघि बढाउने व्यवस्थाको सुरुवात गरेको बताए।
“अब कुनै पनि निर्णय कागजमा मात्रै सीमित हुँदैन, त्यसको तत्काल कार्यान्वयन सुनिश्चित गर्न सकिने प्रणाली तयार भइसकेको छ,” मन्त्री खनालले भने।
उनले भन्सार प्रशासनमा सुधार र भ्रष्टाचार नियन्त्रणका लागि ठोस पहल भइरहेको उल्लेख गर्दै “जेनजी आन्दोलनको मर्मअनुसार पारदर्शिता र सुशासनलाई मजबुत बनाउने” बताए।
खनालका अनुसार, सुशासन र पारदर्शिता अभावमा मुलुकमा कामको वातावरण कमजोर हुँदै गएको छ र त्यसका कारण धेरै नागरिक रोजगारीका लागि विदेश जान बाध्य भइरहेका छन्। उनले भने, “हामी यस्तो अवस्था अन्त्य गर्न प्रयासरत छौं— अब देशमै रोजगारीका अवसर सिर्जना हुन्छ।”
अर्थमन्त्री खनालले आश्वासन र भाषणबाट मात्र विकास सम्भव नहुने भन्दै हरेक मन्त्रालयमा सुधार र कार्यक्षमता अभिवृद्धिका कार्यक्रम अगाडि बढिरहेको जानकारी पनि दिए।
अर्थ चौतारी ।