काठमाण्डौ । नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा तीन भागमा विभाजन गरी पुनर्संरचना गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले सरकारलाई सिफारिस गरेको छ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा गठित समितिले निगमलाई दक्ष, नाफामुखी र प्रतिस्पर्धी बनाउन संरचनागत र व्यवस्थापकीय सुधारका ठोस प्रस्ताव अघि सारेको हो।
समितिले निगमको पुँजी संरचना, स्वामित्व, व्यवस्थापन र सञ्चालन प्रणालीमा आमूल परिवर्तन गरी नेपाल एयरलाइन्स कम्पनी लिमिटेड, नेपाल उड्डयन सेवा कम्पनी लिमिटेड र नेपाल वायुसेवा निगम (आन्तरिक सेवा) गरी तीन कम्पनीमा विभाजन गर्न सुझाव दिएको छ।
यीमध्ये नेपाल एयरलाइन्स र नेपाल उड्डयन सेवा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनी बनाई नेप्सेमा सूचीकृत गर्ने सिफारिस गरिएको छ भने आन्तरिक सेवालाई भने राज्यको नियन्त्रणमा राख्ने भनिएको छ।
प्रतिवेदन अनुसार, नेपाल एयरलाइन्स कम्पनीको अधिकृत पुँजी ५० अर्ब, उड्डयन सेवा कम्पनीको २५ अर्ब र आन्तरिक सेवाको ५ अर्ब रहने प्रस्ताव गरिएको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्रवाह भएका ऋणलाई पुँजीगत लगानीमा रूपान्तरण गर्ने पनि सुझाव दिइएको छ।
त्यस्तै, कार्यकारी अध्यक्षको व्यवस्था हटाएर बोर्ड अध्यक्ष र कार्यकारी प्रमुख छुट्याउने, प्रतिस्पर्धात्मक करार प्रणाली लागू गर्ने, र आन्तरिक उड्डयनका लागि नयाँ विमान थप गर्ने सिफारिस गरिएको छ।
समितिले भनेको छ– “तीन कम्पनी मोडेलले नेपाल वायुसेवा निगमलाई दक्ष, पारदर्शी र दीर्घकालीन रूपमा टिकाउ संस्थामा रूपान्तरण गर्नेछ।”
अर्थ चौतारी ।