logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • आयल निगमले १३ अर्ब नाफा कमायो : मन्त्री सिन्हा

    आयल निगमले १३ अर्ब नाफा कमायो : मन्त्री सिन्हा

    1.2K
    SHARES
    आयल निगमले १३ अर्ब नाफा कमायो : मन्त्री सिन्हा

    काठमाण्डौ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले नेपाल आयल निगमले आर्थिक मन्दी र वित्तीय दबाबका बाबजुद १३ अर्बभन्दा बढी नाफा कमाउनु संस्थागत सुधारको नतिजा भएको बताएका छन् ।



    शुक्रबार नेपाल आयल निगमको ५५औँ वार्षिकोत्सव तथा केन्द्रीय कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले निगमको नेतृत्व, कर्मचारीको मिहिनेत र स्वचालित मूल्य प्रणालीका कारण निगम नाफामा जान सफल भएको बताएका हुन् ।

    ‘विगतका वर्षहरूमा देखिएको कमजोर आर्थिक अवस्थाका बाबजुद निगमले संस्थागत सुधार र वित्तीय अनुशासन कायम गर्दै आर्थिक वर्ष २०८१–८२ मा करिब १३.६ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ,’ मन्त्री सिन्हाले भने ।

    मन्त्री सिन्हाले मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाको सफलतापछि अब अमलेखगन्ज–लोथर र सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाको प्रारम्भिक कार्य अगाडि बढाइएको जानकारी दिए । उनले इन्धन आपूर्ति शृङ्खलाको लागत घटाउन, स्मार्ट टर्मिनल विस्तार गर्न र भण्डारण क्षमता वृद्धि गर्न निगम व्यवस्थापनलाई निर्देशन दिए ।

    इन्डियन आयल कर्पोरेसन (आईओसी) सँगको दीर्घकालीन सम्झौताले नेपालमा इन्धनको सुरक्षित र भरपर्दो आपूर्ति भएको बताए । उनले कानुन बमोजिम कर्मचारीले पाउने बोनस लगायतका सुविधामा आफू सकारात्मक रहेको तर कानुन विपरीतका सुविधा लिन नहुने र दिन पनि नहुनेमा जोड दिए ।

    नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री सिन्हाले नयाँ भवनसँगै निगमको कार्यशैलीमा पनि पारदर्शिता र सुशासन हुनुपर्ने बताए । उनले भने, ‘यो नयाँ भवनबाट आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै सेवा प्रवाह हुनेछ भन्ने विश्वास लिएको छु ।’

    मन्त्री सिन्हाले ग्रिन हाइड्रोजन र इथानोल प्रयोगको विषयमा नीतिगत निर्णय भए पनि यसको पूर्ण तयारी र कार्यान्वयनका लागि अझै समय लाग्ने बताए । साथै, दैलेखमा भइरहेको पेट्रोलियम अन्वेषण र प्राकृतिक ग्यासको सम्भावनालाई पनि अगाडि बढाइने उनले प्रतिबद्धता व्यक्त गरे ।


    अर्थ चाैतारी
  • आइतबार, २७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट