काठमाण्डौ । नेपाली कांग्रेसका सभापतिमा गगन कुमार थापा निर्वाचित भएको घोषणा भए लगत्तै उपसभापति विश्वप्रकाश शर्माले बधाई दिँदै दुबोको माला लगाइदिएका छन् ।
बिहीबार बिहान थापालाई सभापति चयन भएको निर्वाचन समितिका संयोजक सीताराम केसीले घोषणा गरेका हुन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएसँगै थापाले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा गरेको छ ।
महाधिवेशनबाट सभापतिमा गगन थापा चुनिएका छन् । उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।
नेताहरूका अनुसार, अब यो टोली आफ्नो आधिकारिकता खोज्दै निर्वाचन आयोग जाँदैछ । सभापति चुनिएलगत्तै गगनले भनेका छन्, ‘आयोग कसैको प्रभावमा नपर्ने विश्वास छ ।’
अर्थ चौतारी ।