काठमाण्डौ । नेपालमा वित्तीय सेवामा आम नागरिकको पहुँच, प्रयोग र सेवा गुणस्तरमा उल्लेखनीय प्रगति देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकांकअनुसार आर्थिक वर्ष २०२४/२५ मा समग्र सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले तयार पारेको प्रतिवेदनले पछिल्लो वर्ष वित्तीय समावेशीकरणको अवस्था स्थिर रूपमा सुधारोन्मुख रहेको देखाएको हो। केन्द्रीय बैंकका अनुसार वित्तीय सेवाको पहुँच विस्तार, डिजिटल माध्यमको बढ्दो प्रयोग तथा सेवा गुणस्तरमा आएको सुधारले सूचकांक उकासिन सहयोग पुगेको छ।
मानव विकास सूचकांकको ढाँचामा गणना गरिएको वित्तीय समावेशीकरण सूचकांक ० देखि १ सम्मको मापनमा आधारित रहेको छ, जहाँ उच्च अंकले वित्तीय प्रणालीमा नागरिकको बढी समावेशीकरण जनाउँछ। उक्त सूचकांक पहुँच, प्रयोग र गुणस्तर गरी तीन आयाममा विभाजन गरिएको छ, जसका लागि ५५ वटा विभिन्न सूचक प्रयोग गरिएको छ।
प्रतिवेदनअनुसार पहुँच सूचकांक ०.५३ पुगेको छ, जसले देशभर बैंक तथा वित्तीय संस्था, सेवा केन्द्र र डिजिटल वित्तीय सेवाको विस्तार भएको संकेत गर्दछ। प्रयोग सूचकांक ०.५४ कायम भएको छ, जसले बैंकिङ कारोबार, डिजिटल भुक्तानी, बीमा तथा अन्य वित्तीय सेवामा व्यक्ति र घरपरिवारको सहभागिता बढ्दै गएको देखाउँछ।
त्यसैगरी, वित्तीय सेवाको गुणस्तर सूचकांक ०.५० मा पुगेको छ। वित्तीय साक्षरतामा भएको वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको मजबुती, पारदर्शिताको विस्तार र ग्राहक अनुभवमा आएको सुधारले गुणस्तर पक्षमा सकारात्मक प्रभाव पारेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन र नियामक सुधारका कारण वित्तीय समावेशीकरणमा सकारात्मक परिणाम देखिन थालेको उल्लेख गरेको छ। साथै, आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवर्द्धन र उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।
अर्थ चाैतारी ।