काठमाण्डौ । अन्तर्राष्ट्रिय बीमा नियामकहरुको संगठनले सन् २०२६-२०२७ का लागि आफ्नो नयाँ रणनीतिक रोडम्याप सार्वजनिक गरेको छ । यो रोडम्यापले आगामी दुई वर्षमा विश्वव्यापी बीमा नियमन र सुपरिवेक्षण कुन दिशामा अघि बढ्ने भन्ने स्पष्ट संकेत दिएको छ।
संगठनका सदस्य राष्ट्रमध्ये नेपाल पनि पर्ने भएकाले यसको प्रभाव प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपालको बीमा क्षेत्रमा देखिन सक्ने विश्लेषकहरू बताउँछन् ।
संगठनको रोडम्यापले विश्वव्यापी बीमा क्षेत्रमा देखिँदै आएका नयाँ जोखिम, प्रविधिगत परिवर्तन र जलवायु सम्बन्धी चुनौतीलाई मुख्य प्राथमिकतामा राखेको छ । विशेषगरी जलवायू परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक प्रकोप, डिजिटल प्रविधिको तीब्र प्रयोगसँगै बढ्दो साइबर जोखिम, तथा ठूला बीमा कम्पनीहरुको पूँजी पर्याप्तता जस्ता विषयमा नियामकहरुको भूमिका अझ सुदृढ बनाउने लक्ष्य यसमा देखिन्छ।
यो रणनीतिले बीमा सुपरिवेक्षणलाई जोखिम आधारित बनाउने, नियामक संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रिय स्तरमा समान किसिमका नियामक मापदण्ड लागू गर्ने दिशामा जोड दिएको छ। यसै सन्दर्भमा संगठनले ‘इन्स्योरेन्स क्यापिटल स्टाण्डर्ड’ र ‘कम फ्रेम’ जस्ता विश्वव्यापी मानकहरुको कार्यान्वयनलाई निरन्तरता दिने संकेत पनि दिएको छ।
नेपालको सन्दर्भमा हेर्दा, यो रोडम्यापले केही सकारात्मक अवसरहरू सिर्जना गर्ने अपेक्षा गर्न सकिन्छ । संगठनले विकासोन्मुख तथा उदीयमान बजारका नियामकहरुलाई लक्षित गरेर क्षमता विकास, तालिम र प्राविधिक सहयोगलाई प्राथमिकतामा राखेको छ । यसले नेपाल बीमा प्राधिकरणलाई अन्तर्राष्ट्रिय अभ्याससँग नजिकिँदै आफ्नो सुपरिवेक्षण प्रणाली सुधार गर्न मद्दत पुग्न सक्छ। विशेषगरी जोखिम मूल्यांकन, तथ्यांकमा आधारित निर्णय र डिजिटल सुपरिवेक्षण प्रणालीको प्रयोगमा नेपालले क्रमिक सुधार गर्न सक्ने सम्भावना देखिन्छ।
जलवायू जोखिम र प्राकृतिक प्रकोप बीमालाई रोडम्यापले विशेष महत्त्व दिएको सन्दर्भमा नेपालका लागि यो अझ सान्दर्भिक विषय हो । भूकम्प, बाढी, पहिरो र जलवायूजन्य जोखिम उच्च रहेको नेपालमा बीमा कवरेज अझै सीमित छ। संगठनको रणनीतिबाट प्राप्त अध्ययन, तथ्यांक र नीतिगत मार्गदर्शनले दीर्घकालीन रूपमा कृषिबीमा, विपद् बीमा र पुनर्बीमा संरचनालाई मजबुत बनाउने आधार तयार गर्न सक्छ।
यस रोडम्यापसँग केही चुनौतीहरू पनि जोडिएका छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार रिपोर्टिङ, पूँजी पर्याप्तता र जोखिम व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने दबाबले साना तथा मध्यम आकारका बीमा कम्पनीहरूलाई कठिनाइ हुन सक्छ। प्राविधिक जनशक्ति, सूचना प्रणाली र अनुपालन खर्च बढ्नु अर्को चुनौतीका रूपमा देखिन्छ। त्यसैले यी मानकहरूलाई स्थानीय बजारको अवस्था अनुसार क्रमिक र लचिलो ढंगले लागू गर्नु आवश्यक देखिन्छ।
नीतिगत रूपमा हेर्दा, संगठन रोडम्यापले नेपाल बीमा प्राधिकरणलाई आफ्नो नियामक रणनीति पुनरावलोकन र परिमार्जन गर्न संकेत दिएको छ । आगामी दिनमा जलवायू जोखिम खुलासा, साइबर जोखिम व्यवस्थापन, डिजिटल बीमा कारोबार र जोखिम आधारित सुपरिवेक्षणलाई केन्द्रमा राखेर नयाँ निर्देशन वा सुधारात्मक कदमहरु देखिन सक्ने सम्भावना छ ।
संगठनको रोडम्यापले विश्व बीमा क्षेत्रलाई थप सुरक्षित, पारदर्शी र दिगो बनाउने लक्ष्य लिएको देखिन्छ । नेपालका लागि यो रणनीति दीर्घकालीन रूपमा लाभदायक हुन सक्छ, तर त्यसका लागि नियामक, बीमा कम्पनी र सरोकारवालाबीच समन्वय, क्षमता विकास र व्यवहारिक कार्यान्वयन अत्यावश्यक रहनेछ ।
अर्थ चाैतारी ।