काठमाण्डौ । लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठक सम्पन्न भएको छ । मङ्गलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समितिको बैठक बसेको हो ।
बैठकमा अर्थ मन्त्री वाग्लेले लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानू लाजमर्दो विषय भएको बताए । विदेशी लगानी स्वीकृत भएको यति लामो समयमा काम नै नभएको भन्दै निर्मम समीक्षा गर्नुपर्ने बताए । परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुमा दोषी को हो ? मान्छे भए मान्छे कानुन भए कानुन फेर्नैपर्ने अवस्था आएको अर्थमन्त्री वाग्लेले बताए ।
अब १४ औँ बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर सोचिने उनले बताए । लगानी सहजीकरण गर्ने यति ठुलो शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भएको समेत उनले बताए ।
अर्थमन्त्री वाग्लेले कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री बालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजना को हालत अत्यन्तै दयनीय देखिएको बताए ।
परियोजना अघि बढाउन प्रगतिको बाधक के–के हुन तत्काल सम्बोधन गर्न उनले आग्रह गरे । कुन निकाय ? कुन व्यक्ति ? के–के कारणले समन्वय गर्न नसकेको हो ? अब यो मनिटरिङ हुने उनले बताए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यालय तथा समितिको काम कर्तव्य, अधिकार, बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाका बारेमा जानकारी गराएका थिए । यस्तै उनले यस अघिको १२औँ बैठकले गरेको निर्णय कार्यान्वयन जस्ता विषयमा प्रष्ट पारेका थिए।
अर्थ चाैतारी ।