logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • ई–कमर्स क्षेत्रमा नयाँ युगको सुरुवातः सरकारले ल्यायो उपभोक्ता केन्द्रित ‘विद्युतीय व्यापार निर्देशिका २०८२’

    ई–कमर्स क्षेत्रमा नयाँ युगको सुरुवातः सरकारले ल्यायो उपभोक्ता केन्द्रित ‘विद्युतीय व्यापार निर्देशिका २०८२’

    1.6K
    SHARES
    ई–कमर्स क्षेत्रमा नयाँ युगको सुरुवातः सरकारले ल्यायो उपभोक्ता केन्द्रित ‘विद्युतीय व्यापार निर्देशिका २०८२’

    काठमाण्डौ । नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय व्यापार (ई–कमर्स) क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सरकारले महत्वपूर्ण कदम चालेको छ।



    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार (इ–कमर्स) ऐन, २०८१’ ले दिएको अधिकार प्रयोग गर्दै ‘विद्युतीय व्यापार (इ–कमर्स) निर्देशिका २०८२’ जारी गरेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाद्वारा हस्ताक्षरित यो निर्देशिकाले नेपालको डिजिटल अर्थतन्त्रलाई औपचारिक, सुरक्षित र प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले विश्वास लिएको छ ।

    यसको सफल कार्यान्वयनले एकातिर उपभोक्ताको विश्वास जित्न मद्दत पुग्नेछ भने अर्कोतिर इमानदारीपूर्वक व्यवसाय गर्नेहरूलाई प्रोत्साहन मिल्नेछ, जसले अन्ततः समग्र ई–कमर्स इकोसिस्टमलाई नै बलियो बनाउनेछ ।

    यो निर्देशिकाले अनलाइन व्यवसाय सञ्चालनका लागि अनिवार्य सूचीकरणदेखि उपभोक्ताको गुनासो सुनुवाइसम्मका विषयमा स्पष्ट कानुनी व्यवस्था गर्दै डिजिटल अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउने लक्ष्य राखेको छ ।

    पछिल्ला केही वर्षयता विशेषगरी कोभिड–१९ महामारीपछि नेपालमा अनलाइन किनमेलको प्रवृत्ति ह्वात्तै बढेको छ । सामाजिक सञ्जालदेखि ठूला प्लेटफर्महरूमार्फत हजारौं व्यवसाय सञ्चालनमा छन् । तर, यसको तीव्र वृद्धिसँगै ठगी, गुणस्तरहीन सामानको बिक्री, अस्वस्थ प्रतिस्पर्धा, ग्राहकको तथ्याङ्क दुरुपयोग र गुनासो सुनुवाइ नहुने जस्ता समस्याहरू पनि विकराल बन्दै गएका थिए ।

    यही पृष्ठभूमिमा मन्त्रालयले अनलाइन व्यापारलाई नियमनको दायरामा ल्याउन यो निर्देशिका जारी गरेको हो, जसलाई सरोकारवालाहरूले ई–कमर्स क्षेत्रको लागि एउटा कोशेढुंगा मानेका छन् ।

     

    अनिवार्य सूचीकरणः अव्यवस्थित व्यवसाय कानुनी दायरामा
    निर्देशिकाको सबैभन्दा महत्वपूर्ण व्यवस्था भनेको ई–कमर्स व्यवसायको अनिवार्य सूचीकरण हो ।

    परिच्छेद–२ मा गरिएको व्यवस्थाअनुसार, अबदेखि अनलाइनमार्फत वस्तु वा सेवाको व्यापार गर्ने हरेक व्यवसायीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनलाइन पोर्टलमा अनिवार्य रूपमा आफ्नो फर्म सूचीकरण गर्नुपर्नेछ ।

    यसका लागि व्यवसायीले फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान), डोमेन स्वामित्व वा होस्टिङ सम्झौता, गोपनीयता नीति, र साइबर सुरक्षा परीक्षण प्रतिवेदन जस्ता कागजातहरू पेस गर्नुपर्नेछ ।

    विभागले निवेदन प्राप्त भएको सात दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी सूचीकरण नम्बर उपलब्ध गराउनेछ । यदि कुनै व्यवसायीले आफ्नो फर्मको नाम, ठेगाना, स्वामित्व वा कारोबारको प्रकृति परिवर्तन गरेमा सोको जानकारी ७ दिनभित्र अद्यावधिक गर्नुपर्नेछ ।

    यो व्यवस्थाले हालसम्म अनौपचारिक र पहिचानविहीन रूपमा सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउनेछ ।

    सूचीकरण नगरिकन व्यवसाय सञ्चालन गरेको पाइएमा निरीक्षण अधिकृतले ऐनबमोजिम कारबाही गरी ७ दिनभित्र सूचीकरण गर्न आदेश दिनेछ । उक्त म्यादभित्र पनि अटेर गरेमा विभागले त्यस्तो प्लेटफर्म खारेज गर्नेसम्मको कारबाही अगाडि बढाउनेछ ।

    यसले उपभोक्तालाई कुन व्यवसायी आधिकारिक हो र कुन होइन भनेर छुट्याउन मद्दत पुग्नेछ भने ठगीका घटनामा कानुनी कारबाहीका लागि समेत सहज हुनेछ ।

    उपभोक्ताको तथ्याङ्क सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता
    अनलाइन कारोबारमा उपभोक्ताको व्यक्तिगत विवरणको सुरक्षा एक प्रमुख चासोको विषय हो ।

    यसलाई सम्बोधन गर्न निर्देशिकाले कडा व्यवस्था गरेको छ । परिच्छेद–४ अनुसार ई–कमर्स प्लेटफर्मले प्रयोगकर्ताको पासवर्ड, फोन नम्बर, ठेगाना, जन्ममिति जस्ता संवेदनशील व्यक्तिगत विवरणलाई अनिवार्य रूपमा ‘एनक्रिप्टेड’ गरी सुरक्षित राख्नुपर्नेछ ।

    कुनै पनि विवरणमा अनाधिकृत पहुँच, दुरुपयोग वा चुहावट हुन नदिन प्लेटफर्मले उचित प्राविधिक र व्यवस्थापकीय सुरक्षाका उपायहरू अपनाउनुपर्नेछ ।

    यदि कुनै कारणवश तथ्याङ्क चुहावट वा प्रणालीमा खराबी आएमा, व्यवसायीले तत्काल कारोबार बन्द गरी समस्या समाधान भएपछि मात्र व्यवसाय पुनः सुचारु गर्नुपर्नेछ र सोको सार्वजनिक जानकारीसमेत गराउनुपर्नेछ ।

    यो व्यवस्थाले उपभोक्ताको गोपनीयताको हकलाई सुरक्षित गर्ने र डिजिटल प्लेटफर्मलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।

     

    भुक्तानी प्रणाली र रकम फिर्तामा स्पष्टता
    निर्देशिकाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै यसलाई पारदर्शी बनाएको छ । अब सबै ई–कमर्स व्यवसायीले कारोबार गर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत ‘डिजिटल पेमेन्ट गेटवे’ मात्र प्रयोग गर्नुपर्नेछ ।

    यदि उपभोक्ताले नगदमै भुक्तानी गरे पनि व्यवसायीले अनिवार्य रूपमा विद्युतीय बीजक (ई बील) जारी गर्नुपर्नेछ ।
    उपभोक्ताको हितलाई ध्यानमा राख्दै रकम फिर्ताको लागि पनि समयसीमा तोकिएको छ ।

    ऐनको दफा १० को उपदफा (४) अनुसार, यदि क्रेताले खरिद गरेको वस्तु फिर्ता गर्नुपर्ने वा अर्डर रद्द गर्नुपर्ने अवस्था आएमा व्यवसायीले ७ (सात) दिनभित्र क्रेताको रकम फिर्ता गरि सक्नुपर्नेछ । यसअघि रकम फिर्तामा हुने ढिलासुस्ती र झन्झटको अन्त्य गर्न यो व्यवस्थाले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

    प्रभावकारी गुनासो सुनुवाइ संयन्त्रको व्यवस्था
    अनलाइन किनमेलमा उपभोक्ताको गुनासो सुनुवाइ नहुने समस्यालाई समाधान गर्न निर्देशिकाले दुई–तहको संयन्त्रको व्यवस्था गरेको छ ।

    पहिलो हरेक ई–कमर्स प्लेटफर्मले आफ्नै अनलाइन प्रणालीमार्फत उपभोक्ताको गुनासो दर्ता गर्ने र त्यसलाई व्यवस्थापन गर्ने संयन्त्र बनाउनुपर्नेछ। यसरी प्राप्त भएको गुनासो १५ दिनभित्र समाधान गरि सक्नुपर्नेछ ।

    यदि व्यवसायीबाट गुनासोको सुनुवाइ नभएमा वा उपभोक्ता सन्तुष्ट नभएमा, उसले विभागमा उजुरी दिन सक्नेछ । यस्ता विवादको समाधान गर्न विभागमा एक ‘विद्युतीय व्यापार (इ–कमर्स) विवाद समाधान समिति’ गठन हुने व्यवस्था निर्देशिकाले गरेको छ ।

    विभागका निर्देशकको संयोजकत्वमा गठन हुने यस समितिमा सम्बन्धित पक्षका प्रतिनिधि र निरीक्षण अधिकृतसमेत सदस्य रहनेछन्। समितिले छलफल र मध्यस्थताको माध्यमबाट विवाद समाधान गर्ने प्रयास गर्नेछ ।

    नियमित अनुगमन र कारबाही
    निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमनको व्यवस्था गरिएको छ ।

    विभागले खटाएको निरीक्षण अधिकृतले ई–कमर्स फर्महरूको नियमित निरीक्षण गर्नेछ। निरीक्षणका क्रममा प्लेटफर्म ऐन र निर्देशिकाबमोजिम सञ्चालन भए-नभएको, वस्तुको लेबल र गुणस्तर, डेलिभरी तथा फिर्ता नीति, साइबर सुरक्षा अभ्यास र भुक्तानी प्रणालीको अवस्था जाँच गरिनेछ ।

    यस क्रममा साइबर सुरक्षा विज्ञ, उपभोक्ता अधिकारकर्मी र कर प्रशासनका प्रतिनिधिलाई समेत सामेल गराउन सकिनेछ । निरीक्षणका क्रममा ऐनविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।

    साथै ई–कमर्स प्लेटफर्मले गरेका कारोबारको अभिलेख, बिल, उपभोक्ता गुनासो र सुनुवाइसँग सम्बन्धित विवरण कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ, जसले अनुगमन र अनुसन्धानमा सघाउ पु¥याउनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, ६ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट