logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • रास्वपा नेतालाई दोषी देखाइए पछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार अनइच्छुक

    रास्वपा नेतालाई दोषी देखाइए पछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार अनइच्छुक

    1.3K
    SHARES
    रास्वपा नेतालाई दोषी देखाइए पछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार अनइच्छुक

    काठमाण्डौ । गत फागुन २४ गते सरकारलाई बुझाइएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन अहिले सर्वाधिक चासो र बहसको विषय बनेको छ । तर, सरकारले यसलाई सार्वजनिक गर्ने विषयमा भने उदासीनता देखाएको छ ।



    विभिन्न स्रोतहरूले ‘जेनजी आन्दोलन’का क्रममा भएका दमन, हिंसा र क्षतिका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा तत्कालीन सरकारका प्रधानमन्त्रीदेखि गृहमन्त्री, उच्चपदस्थ सुरक्षा अधिकारी र फिल्ड कमान्डरसम्मलाई कारबाहीको सिफारिस गरिएको जनाएका छन् ।

    चुनावी सरकार र निर्वाचनबाट बहुमत प्राप्त गरी सरकारको नेतृत्व गर्न तयार रहेको नयाँ शक्तिबीच प्रतिवेदन कार्यान्वयनको ‘जस’ लिने होडबाजी, प्रतिवेदनमा उल्लेखित संवेदनशील सिफारिसहरूले पार्न सक्ने राजनीतिक तरंग र केही आरोपित व्यक्तिहरू हालैको निर्वाचनबाट सांसदसमेत भइसकेको अवस्थाले सरकार यसलाई सार्वजनिक गर्न हच्किएको प्रस्ट देखिन्छ ।

     

    आन्दोलनको पृष्ठभूमि र आयोग गठन

    २०८२ साल भदौ २३ र २४ गते राजधानी काठमाडौंमा ‘जेनजी आन्दोलन’ का नाममा युवा विद्यार्थीहरूले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । प्रदर्शनकारीमाथि राज्यले गरेको दमन र त्यसको प्रतिक्रियामा भएका आगजनी तथा तोडफोडका घटनामा ७६ जनाको मृत्यु भएको थियो भने ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति भएको सरकारी अनुमान थियो ।

    भदौ २३ गते सुरक्षाकर्मीको कारबाहीमा प्रदर्शनकारीको मृत्यु भएपछि २४ गतेको आन्दोलन झनै उग्र बनेको थियो, जसले सिंहदरबार, संसद् भवन र अदालतजस्ता संवेदनशील संरचनामा समेत क्षति पुर्‍याएको थियो । उक्त घटनाक्रमपछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भयो, जसले २०८२ असोज ५ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गर्‍यो ।

    आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य थिए । आयोगलाई घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको सिफारिस गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुझाव दिने कार्यादेश दिइएको थियो ।

     

    लामो अनुसन्धान र प्रतिवेदन पेस

    सुरुमा तीन महिनाको समय पाएको आयोगको म्याद तीन पटकसम्म थपिएको थियो । पहिलो पटक एक महिना, दोस्रो पटक २० दिन र तेस्रो पटक २५ दिन म्याद थपेर आयोगले करिब ६ महिना लामो विस्तृत अनुसन्धान गरेको थियो । यस क्रममा आयोगले २०० जनाभन्दा बढी व्यक्तिसँग सोधपुछ गरी घटनाको विविध पक्ष केलाएको थियो ।

    लामो अनुसन्धानपछि आयोगले करिब १० हजार पृष्ठको विस्तृत प्रतिवेदन तयार गरी २०८२ फागुन २४ गते आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको थियो । प्रतिवेदन बुझाउने क्रममा आयोगका अध्यक्ष कार्कीले आफूहरूले कुनै पनि पूर्वाग्रह नराखी निष्पक्ष छानबिन गरेको र प्रतिवेदन कार्यान्वयन भएमा ‘देशको मुहार फेरिने’ विश्वास व्यक्त गरेका थिए ।

    उनले देशमा व्याप्त कुशासन, दलीय भागबन्डा र ढिलासुस्तीका कारण नागरिकमा आक्रोश बढेर उक्त घटना भएको निष्कर्ष सुनाएका थिए । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले त्यसलाई तत्काल अध्ययन गरेर कार्यान्वयन प्रक्रिया अघि बढाउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

    उनले भनिन्, ‘दूधको दूध, पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ । अब यसको अध्ययन गरी कार्यान्वयनको प्रक्रिया अघि बढ्छ ।’ तर, उनको यो प्रतिबद्धताका बाबजुद पनि प्रतिवेदन अहिलेसम्म मन्त्रिपरिषद्मा पेस हुन सकेको छैन र सार्वजनिक गर्ने प्रक्रिया अनिश्चित बनेको छ ।

     

    सार्वजनिक गर्न किन ढिलाइ ?

    प्रतिवेदन बुझाएको एक साता बितिसक्दा पनि सरकारले यसलाई सार्वजनिक गर्ने वा कार्यान्वयन प्रक्रिया अघि बढाउनेबारे कुनै ठोस निर्णय लिन सकेको छैन । कतिपय सरोकारवालाहरूले यसको पछाडि बहुआयामिक कारणहरू रहेको औंल्याएका छन् । प्रतिवेदन बुझाउने समय राजनीतिक रूपमा संवेदनशील थियो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट रूपमा बहुमत हासिल गर्ने दिशातर्फ उन्मुख थियो ।

    प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको चुनावी सरकार आफ्नै कार्यकालमा प्रतिवेदन कार्यान्वयनमा लगेर जस लिन चाहन्थ्यो । तर, रास्वपाका प्रभावशाली नेताहरूले नयाँ र शक्तिशाली सरकारले नै यसलाई कार्यान्वयन गर्नुपर्ने भन्दै चुनावी सरकारलाई दबाब दिएका थिए ।

    रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने वाचा गरेको थियो, जसले गर्दा उनीहरू यो मुद्दालाई आफ्नो राजनीतिक सफलताको रूपमा स्थापित गर्न चाहन्छन् । यही राजनीतिक खिचातानीका कारण मन्त्रिपरिषद् बैठक बस्न नसक्दा प्रतिवेदनमाथिको निर्णय प्रक्रिया रोकिएको छ । त्यस्तै, आयोगले घटनामा संलग्न देखिएका उच्चपदस्थ व्यक्तिहरूलाई समेत नछोडी कारबाहीको सिफारिस गरेको छ ।

    स्रोतहरूका अनुसार, गोली हान्न आदेश दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरीका भ्याली कमान्डर, गोली चल्दा रोक्न आदेश नदिने गृहमन्त्री र प्रधानमन्त्रीसम्मलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ । प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि समेत अनुसन्धान गर्न सुझाएको छ ।

    यस्ता सिफारिसहरूले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई नै अप्ठ्यारोमा पार्ने भएकाले यसलाई सार्वजनिक गर्न र हुबहु कार्यान्वयन गर्न सरकारलाई ठूलो राजनीतिक साहस आवश्यक पर्छ ।

     

    निर्वाचितहरू नै प्रतिवेदनका ‘दोषी’

    प्रतिवेदनमा दोषी देखाइएका कतिपय व्यक्तिहरू फागुन २१ को निर्वाचनबाट सांसदका रूपमा निर्वाचित भइसकेका छन् । यस्तो अवस्थामा प्रतिवेदन सार्वजनिक गर्दा र कारबाही प्रक्रिया अघि बढाउँदा संसद् र राजनीतिक वृत्तमा ठूलो तरंग आउन सक्ने देखिन्छ । आयोगकै एक सदस्यले भनेका छन्, ‘दुवै दिनका घटनामा संलग्न देखिएका अनुहार सांसद भइसकेका पनि छन् । यस्तो अवस्थामा सरकारले आँट गर्छ कि गर्दैन भन्ने मूल प्रश्न हो ।’

    सरकारले प्रतिवेदनका सबै अंश सार्वजनिक गर्दा सुरक्षा जटिलता उत्पन्न हुन सक्ने र आरोपितहरू भाग्न सक्ने वा प्रमाण नष्ट गर्न सक्ने तर्क अघि सारेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रतिवेदनको ‘निचोड’ मात्र सार्वजनिक गरिने तर सुरक्षाका हिसाबले सबै विवरण सार्वजनिक गर्न नसकिने संकेत गरेका छन् ।

    यद्यपि, नागरिक समाज र अधिकारकर्मीहरूले भने सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार आम चासोको विषय भएकाले प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् । पूर्वसचिव द्वारिकानाथ ढुंगेल लगायतका नागरिक अगुवाहरूले प्रतिवेदनको प्रतिलिपि माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन नै दर्ता गराइसकेका छन् ।

     

    विगतका आयोग र कार्यान्वयनको फितलो अभ्यास

    नेपालमा राजनीतिक र सामाजिक उथलपुथलका घटना छानबिन गर्न आयोग गठन गर्ने लामो इतिहास छ, तर ती आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा सरकारहरूको इच्छाशक्ति सधैं कमजोर देखिएको छ । २०४६ सालको जनआन्दोलनको दमन छानबिन गर्न बनेको मल्लिक आयोग होस् वा २०६२/६३ को जनआन्दोलन छानबिन गर्न गठित रायमाझी आयोग, तिनीहरूका सिफारिसहरू पूर्ण रूपमा कार्यान्वयन भएनन् ।

    मधेश आन्दोलनको छानबिन गर्न बनेको गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन त सरकारले आजसम्म सार्वजनिक नै गरेको छैन । यस्ता आयोगहरूले तथ्य र प्रमाण संकलन गरी कारबाहीको सिफारिस गर्छन्, तर तिनीहरूसँग कार्यकारी अधिकार हुँदैन ।

    प्रतिवेदन कार्यान्वयनको प्रक्रिया मन्त्रिपरिषद्बाट सुरु हुन्छ । मन्त्रिपरिषद्ले प्रतिवेदन स्वीकार गरी अनुमोदन गरेपछि मात्रै त्यसका सिफारिसहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरू (जस्तैः प्रहरी, अख्तियार, अदालत) मा पठाइन्छ ।

    तर, राजनीतिक दबाब र स्वार्थका कारण अधिकांश प्रतिवेदनहरू कि त मन्त्रिपरिषद्मै थन्किन्छन्, कि त तिनका सिफारिसहरूलाई कमजोर बनाएर मात्रै कार्यान्वयन गरिन्छ । कार्की आयोगको प्रतिवेदनले पनि यही नियति भोग्ने हो कि भन्ने संशय बढेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट