logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेफ्स्कुनको नवनिर्मित भवन गभर्नर पौडेलद्वारा उद्घाटन: ‘सहकारी सामन्ती प्रवृत्तिमा नजाऊन्’

    नेफ्स्कुनको नवनिर्मित भवन गभर्नर पौडेलद्वारा उद्घाटन: ‘सहकारी सामन्ती प्रवृत्तिमा नजाऊन्’

    572
    SHARES
    नेफ्स्कुनको नवनिर्मित भवन गभर्नर पौडेलद्वारा उद्घाटन: ‘सहकारी सामन्ती प्रवृत्तिमा नजाऊन्’

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर प्राध्यापक डा. विश्वनाथ पौडेलले सहकारी संस्थाहरू ‘सामन्ती प्रवृत्ति’ तर्फ उन्मुख हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को नवनिर्मित भवनको शुक्रबार बानेश्वरको मीनभवनमा उद्घाटन गर्दै गभर्नर पौडेलले सहकारीको उद्देश्य गरिब र मध्यम वर्गको उत्थान हुनुपर्नेमा जोड दिए।



    विगतमा सहकारीका कार्यक्रमहरूमा मन्त्रालय र विभागका अधिकारीहरूको मात्र उपस्थिति हुने गरेकोमा पहिलो पटक राष्ट्र बैंकका गभर्नर सहभागी हुनुलाई सहकारी वृत्तमा महत्वका साथ हेरिएको छ। नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसलाई ‘ऐतिहासिक क्षण’ को संज्ञा दिएका छन्। सम्बोधनका क्रममा गभर्नर पौडेलले सहकारीले गाउँको पुँजी सहरमा ल्याएर जग्गा प्लटिङमा लगानी गर्ने परिपाटी अन्त्य हुनुपर्ने बताए। “सहकारीको काम गाउँबाट पैसा ल्याएर सहरमा जग्गा किनबेच गर्ने होइन,” उनले भने, “बचतकर्ताको पैसामा सबैको समान अधिकार हुनुपर्छ र सहकारीले अर्बौंका ऋणमा होइन, साना उद्यमीमा ध्यान दिनुपर्छ।”

    उनले प्रत्येक नागरिकलाई सहकारीबाट सानो रकम ऋण लिएर आफ्नो परिवार पाल्न पाउने अधिकार हुनुपर्ने धारणा राखे। आर्थिक रूपमा पछाडि परेका समुदायलाई व्यावसायिक रूपमा सक्षम बनाउनु नै सहकारीको असली मर्म भएको उनको तर्क थियो। जमिनप्रतिको अत्यधिक मोहका विषयमा टिप्पणी गर्दै उनले भने, “जमिन, हावा र पानी भगवानले दिएका चिज हुन्, मानिसलाई जति चाहिन्छ त्यति मात्र उपभोग गर्नुपर्छ, हजारौं बिगाहा ओगटेर राख्नुको अर्थ छैन।”

    २३ करोड ७८ लाखमा भवन सम्पन्न
    नेफ्स्कुनका महासचिव घनश्याम अधिकारीका अनुसार संघको नयाँ प्रशासनिक भवन अनुमानित लागतभन्दा कममा निर्माण सम्पन्न भएको छ। सुरुमा भ्याटसहित २४ करोड ५६ लाख ८१ हजार रुपैयाँ लागत अनुमान गरिएको भए पनि कुल २३ करोड ७८ लाख रुपैयाँमा निर्माण कार्य पूरा भएको हो।

    भवनको संक्षिप्त जानकारी:
    क्षेत्रफल: १७ आना जग्गामा फैलिएको।
    संरचना: ५ तला (२ वटा आधुनिक सभा हल र २ तला पार्किङसहित)।

    २०७९ सालमा निर्माण सम्झौता भई तोकिएको समय र बजेटको सीमाभित्रै भवन निर्माण सम्पन्न भएको संघले जनाएको छ। कार्यक्रममा सहकारीकर्मीहरूले राष्ट्र बैंकको उपस्थितिले सहकारी र बैंकिङ क्षेत्रबीचको समन्वयमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट