विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश समितिको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि आइतबार विराटनगरमा भएको निर्वाचनमा ३ उपाध्यक्षसहित ६ जना निर्विरोध चयन भएका छन्।
अध्यक्ष र सात जना सदस्य पदका लागि भने आइतबार साँझ ८ बजेदेखि मतदान सुरु भएको थिय । राति अबेर सम्पन्न निर्वाचनबाट राउत निर्वाचित भएका हुन्। महासंघ कोसीको अध्यक्ष बन्न यसपटक विराटनगरका दुई जना चर्चित उद्योगीहरु चुनावी प्रतिष्पर्धामा उत्रेका थिए।
महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र महासंघकै केन्द्रीय सदस्य नवीन रिजाल अध्यक्षको उम्मेदवार बनेका थिए। पाँच पदाधिकारीमध्ये अध्यक्षबाहेक सबै पदमा निर्विरोध हुँदा अध्यक्ष र सात जना सदस्यका लागि मात्रै निर्वाचन भएको हो।निर्विरोध चयन भएका तीन जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष र दुई जना सदस्य सबै राउत प्यानलका हुन्।
निर्वाचन समितिका अनुसार जिल्ला नगरतर्फको उपाध्यक्षमा झापा धुलाबारीका ऋषिराज तिम्सिना निर्विरोध निर्वाचित हुँदा वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा विराटनगरकै श्रवणकुमार अग्रवाल पनि निर्विरोध चयन भए। एसोसिएट सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका हुन्।
महासंघ कोशीमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी २०५ मतदाताले महासंघको नेतृत्व चयनका लागि मतदान गरेका थिए।
१ जना अध्यक्ष, ३ जना उपाध्यक्ष (जिल्ला, नगर, वस्तुगत र एसोसिएट) र १ जना कोषाध्यक्ष गरी ५ जना पदाधिकारी र त्यस्तै जिल्ला नगरबाट ५ जना सदस्य, वस्तुगतबाट २ र एसोसिएटतर्फबाट २ जना सदस्यसहित १४ सदस्यीय प्रदेश समिति छानिएका छन्।

अर्थ चाैतारी ।