काठमाण्डौ । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ।
विभाग स्रोतकाअनुसार विभागले बुधबार मन्त्रालयलाई यात्रुवाहक सवारीका लागि ९.८ प्रतिशत र ढुवानीका सवारीका लागि पहाडीमा करिब १४ प्रतिशत र तराईमा १२ प्रतिशतका दरले समायोजन गर्ने गरी सिफारिस गरेको छ।
गत चैत २५ गते विभागले अन्तरप्रदेशको रुटमा चल्ने सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३ वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइसकेको भन्दै यातायात व्यवसायीले सरकारसमक्ष भाडा बढाउन माग गर्दै आएका थिए ।
पश्चिम एसिया द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले वैशाख ३ गतेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ वृद्धि गरेको थियो । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।यसअघि चैत २६ गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ बढेको थियो।
डिजेलमा मात्रै प्रतिलिटर ५५ रुपैयाँ बढेको भन्दै व्यवसायीले भाडा बढाउन सरकारलाई दबाब दिइरहेका थिए।
अर्थ चाैतारी ।