logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • गैरकानुनी रूपमा पदमा बसेको भन्दै सीडीएससीकी प्रबन्ध निर्देशक पन्धाकविरुद्ध उजुरी

    गैरकानुनी रूपमा पदमा बसेको भन्दै सीडीएससीकी प्रबन्ध निर्देशक पन्धाकविरुद्ध उजुरी

    130
    SHARES
    गैरकानुनी रूपमा पदमा बसेको भन्दै सीडीएससीकी प्रबन्ध निर्देशक पन्धाकविरुद्ध उजुरी

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रबन्ध निर्देशक प्रविन पन्धाकविरुद्ध प्रधानमन्त्री कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ मा उजुरी परेको छ । राजनीतिक पहुँच र शक्तिको दुरुपयोग गरी गैरकानुनी रुपमा पदमा बसिरहेको दाबी गर्दै उनीमाथि कारबाहीको मागसहित उजुरी दर्ता गरिएको हो ।



    हेलो सरकारमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको उक्त उजुरीमा पन्धाकको नियुक्ति प्रक्रियादेखि कार्यशैलीसम्मका गम्भीर प्रश्न उठाइएको छ । उजुरीमा पन्धाक नेकपा एमाले निकट युवा संघका अध्यक्ष र सांसदसमेत रहेका क्षितिज थेबेकी नातेदार रहेको र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध र पहुँचको प्रयोग गर्दै उनले सीडीएससी र नेप्सेका पदाधिकारीलाई दबाबमा पारेर प्रबन्ध निर्देशकको पद हत्याएको आरोप लगाइएको छ ।

    खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्ने नियुक्तिमा पहुँचको आधारमा छिरेको र हालसम्म सोही पदमा अनधिकृत रुपमा बसिरहेको उजुरीकर्ताको दाबी छ । पन्धाक मूलतः नेप्सेकी नवौँ तहकी कर्मचारी हुन् । नेप्सेको कर्मचारी विनियमावली अनुसार कुनै पनि कर्मचारी एक वर्षभन्दा बढी समय काजमा जान नपाउने व्यवस्था भए पनि उनी वर्षौँदेखि सीडीएससीको प्रमुख पद ओगटेर बसेको भन्दै यसलाई कानुनको ठाडो उल्लंघन भनिएको छ ।

    यसअघि पनि उनको नियुक्ति र आर्थिक अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको तर राजनीतिक दबाबका कारण अख्तियार प्रमुख प्रेमकुमार राईले कुनै छानबिन नगरेर उन्मुक्ति दिएको आरोप उजुरीमा लगाइएको छ । उजुरीमा पन्धाकले अन्तर्राष्ट्रिय अभ्यास र नेपाली कानुनी प्रावधान विपरीत ‘दोहोरो आइजीन’ (ISIN) को मुद्दालाई अघि सारेर पूँजीबजारलाई बन्धक बनाएको उल्लेख छ ।

    यसले गर्दा विदेशी लगानीकर्ताहरू भित्रिने वातावरण बिग्रिएको र बजारमा त्रास सिर्जना भएको बताइएको छ । यस्तै, उनले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र माउ कम्पनी नेप्सेको निर्देशनलाई समेत अटेर गर्ने गरेको उजुरीमा उल्लेख छ ।

    सरकारी निकायको जिम्मेवार पदमा बसेर पनि पन्धाकले सामाजिक सञ्जालमार्फत राजनीतिक दलको प्रचार गरेको तथ्यलाई पनि उजुरीमा समेटिएको छ । एमाले निकट युवा संघको महाधिवेशन र राजनीतिक नेतृत्वका पोस्टहरू सेयर गरेर उनले निजामती र सार्वजनिक पदको मर्यादा उल्लंघन गरेको आरोप लगाइएको छ ।

    उजुरीकर्ताले हालैको नयाँ राजनीतिक जनादेश र सुशासनको नारा दिने सरकारले यस्ता बेथिति हट्ने अपेक्षा राखेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट