काठमाण्डौ । नेपालका लागि टोयोटा ब्रान्डको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिको आधिकारिक डिलर इस्ट लिंक अटोमोबाइल्सले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमै करिब साढे १ अर्ब रुपैयाँको गाडी बेचेको छ । टोयोटाको आधिकारिक डिलर इस्ट लिंकले चालु आवको ६ महिनाको अवधिमा १ अर्ब ४५ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
सन् २०२३ मा स्थापना भएको कम्पनीले काठमाडौंको उत्तरढोकामा रहेको आफ्नै शोरूमबाट कारोबार गर्दै आएको छ । राजेन्द्र विक्रम पौडेलको पूर्ण स्वामित्व रहेको कम्पनीले गत आवको ८ महिनाको अवधिमा १ अर्ब ३८ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ५ करोड रुपैयाँको रेटिङ गराएको छ।
कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ३.१ प्रतिशत सञ्चालन नाफा कमाएको छ । सन् २०२५ मा ४.६ प्रतिशत सञ्चालन नाफा कमाएको थियो । टोयोटाको नेपालमा प्रादेशिक डिलरसिपको रूपमा रहेको यो कम्पनी सबैभन्दा ठूलो योगदानकर्ता हो । कम्पनीको कार्यशील पूँजी तीव्रता अनुपात घटेर ८ प्रतिशत कायम भएको छ, जुन सन् २०२५ मा १३ प्रतिशत थियो ।
कार्यशील पूँजीको तीव्रता घटेसँगै चालु आवको ६ महिनाको अवधिमा कम्पनीको ऋण उपयोग दर पनि घटेको छ । यससँगै अनुकूल ब्याजदर वातावरणका कारण यसको कभरेज सूचकमा सुधार भई चालु आवको ६ महिनाको अवधिमा आइसीआर १०.३ गुणा पुगेको छ । कम्पनीको थप ऋण उपयोग, ब्याजदरको उतारचढाव र युटीएसबाट प्राप्त लामो समयसम्मको क्रेडिट सहुलियतको निरन्तरता यसको तरलता अवस्थाका लागि महत्त्वपूर्ण रहने रेटिङमा उल्लेख छ ।
अर्थ चाैतारी ।