logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • नबिल बैंकको नाफा ३४ प्रतिशतले बढ्यो, लाभांश क्षमता २१ प्रतिशत माथि

    नबिल बैंकको नाफा ३४ प्रतिशतले बढ्यो, लाभांश क्षमता २१ प्रतिशत माथि

    325
    SHARES
    नबिल बैंकको नाफा ३४ प्रतिशतले बढ्यो, लाभांश क्षमता २१ प्रतिशत माथि

    काठमाण्डौ । नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा आफ्नो व्यावसायिक दक्षतामा उल्लेख्य सुधार गर्दै खुद नाफामा ३३.९१ प्रतिशतको वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । विशेष गरी नोक्सानी व्यवस्थामा गरिएको भारी कटौती र खराब कर्जा व्यवस्थापनमा प्राप्त सफलताले बैंकको नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ ।



    बैंकको खुद ब्याज आम्दानी ४० करोड ५० लाख रुपैयाँले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । यसै गरी बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोडबाट वृद्धि भई ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । आधार दर र स्प्रेड रेटमा संकुचन आए पनि व्यवसायको आकार बढेका कारण बैंकको समग्र वित्तीय स्वास्थ्य सुदृढ देखिएको छ ।

    चालु आर्थिक वर्षको ९ महिनामा नबिल बैंक व्यवसाय विस्तारमा निकै आक्रामक देखिएको छ । गत असार मसान्तसम्म ४ खर्ब १० अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चैत मसान्तसम्ममा त्यसलाई बढाएर ४ खर्ब ४७ अर्ब ९४ करोड रुपैयाँ पुर्‍याएको छ । त्यसै गरी निक्षेप संकलन ५ खर्ब २४ अर्ब ६२ करोडबाट बढेर ५ खर्ब ७८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । बजारमा रहेको अधिक तरलता र प्रतिस्पर्धाका कारण बैंकको स्प्रेड दर ३.३१ प्रतिशत र आधार दर ४.६५ प्रतिशतमा झरेको छ ।

    बैंकको नाफामा बढोत्तरी हुनुको प्रमुख प्राविधिक कारण इम्पेयरमेन्ट चार्जमा आएको गिरावट हो । गत वर्षको चैतसम्म २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ रहेको यस्तो व्यवस्था अहिले घटेर ४७ करोड ८७ लाख रुपैयाँमा झरेको छ । बैंकको निष्क्रिय कर्जाको अनुपातमा जोखिम व्यवस्था (टोटल लोन लस प्रोभिजन टु टोटल लोन) १०८.२० प्रतिशत पुगेको छ, जसले बैंकसँग खराब कर्जाभन्दा बढी प्रोभिजनिङ रकम सुरक्षित रहेको देखाउँछ । साथै बैंकले आफ्नो गैर-बैंकिङ सम्पत्तिलाई समेत घटाएर ३ अर्ब ८५ करोड रुपैयाँमा सीमित गर्न सफल भएको छ ।

    समीक्षा अवधिमा निष्क्रिय कर्जा गत वर्षको ४.९६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा र खुद निष्क्रिय कर्जा ०.९८ प्रतिशतमा झरेको छ । बैंकको सिडी रेसियो ७९.५० प्रतिशत रहेकाले आगामी दिनमा थप कर्जा लगानी गर्न सक्ने पर्याप्त क्षमता बैंकसँग सुरक्षित छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २५.०५ रुपैयाँबाट बढेर ३३.०२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ कायम भएको छ ।

    लगानीकर्ताका लागि महत्त्वपूर्ण मानिने लाभांश क्षमतामा पनि बैंकले सुधार गरेको छ । ५ अर्बको अग्राधिकार सेयरको लाभांश र अन्य नियामयकी समायोजनपछि बैंकको ९ महिनाको वितरणयोग्य नाफा ३ अर्ब ९० करोड २ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सञ्चित नाफासमेत जोड्दा कुल रिटेन्ड अर्निङ ४ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यस आधारमा ३२ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी भएको नबिल बैंकको वार्षिकीकृत लाभांश क्षमता २१.१६ प्रतिशत देखिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट