काठमाण्डौ । मुलुकको अर्थतन्त्रमा केही शिथिलता देखिए पनि राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफामा भने निकै उत्साहजनक वृद्धि देखिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरूले आफ्नो नाफामा उल्लेख्य सुधार गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी बैंकहरूको समग्र खुद नाफा ४९.०४ प्रतिशतले बढेर ५ अर्ब ५० करोड ३५ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको चैतसम्म यस्तो नाफा कुल ३ अर्ब ६९ करोड २७ लाख ९५ हजार रुपैयाँ मात्र रहेको थियो।
बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार खराब कर्जा असुलीमा आएको सुधार र सञ्चालन आम्दानीमा भएको वृद्धिका कारण समग्र बैंकिङ क्षेत्र दबाबमा रहेका बेला पनि विकास बैंकहरूले मुनाफाको ग्राफलाई माथि लैजान सफल भएका हुन्।
नाफा कमाउने प्रतिस्पर्धामा गरिमा विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। गरिमाले यस अवधिमा १ अर्ब ४ करोड ८२ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई ‘अर्ब पति क्लब’ मा सुरक्षित राखेको छ, जुन गत वर्षको तुलनामा ४२.९१ प्रतिशतको वृद्धि हो। दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले ९४ करोड २६ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७८ करोड ८४ लाख ४ हजार रुपैयाँ नाफासहित तेस्रो स्थानमा छ।
यस्तै, ज्योति विकास बैंक ६२ करोड ९४ लाख ६२ हजार रुपैयाँ कमाउँदै चौथो स्थानमा उक्लिएको छ। कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख ९८ हजार र लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख ८३ हजार रुपैयाँ नाफा कमाएका छन्। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४८ करोड ४५ लाख ३९ हजार र महालक्ष्मी विकास बैंकको ४५ करोड ९९ लाख ६४ हजार रुपैयाँ रहेको छ।
गत वर्षको तुलनामा नाफा वृद्धिको प्रतिशतलाई हेर्दा लुम्बिनी विकास बैंकले चमत्कारिक सुधार गरेको देखिन्छ। लुम्बिनीको नाफा गत वर्ष चैतमा ४ करोड ९७ लाख ८३ हजार रुपैयाँ मात्र रहेकोमा यस वर्ष १०२८.२५ प्रतिशतले बढेर ५६ करोड १६ लाख ८३ हजार रुपैयाँ पुगेको छ।
यो वृद्धिदर राष्ट्रिय स्तरका विकास बैंकहरूमध्ये सबैभन्दा उच्च हो। यस्तै, ज्योति विकास बैंकले पनि आफ्नो नाफामा १०५.३ प्रतिशतको छलाङ मारेको छ। अन्य बैंकहरूमा साइन रेसुङ्गाले ५३.३८ प्रतिशत र मुक्तिनाथले ३०.०४ प्रतिशतको वृद्धि हासिल गर्दा सबैभन्दा कम वृद्धिदर महालक्ष्मी विकास बैंकको ५.३६ प्रतिशत रहेको छ। समग्रमा, खराब कर्जा व्यवस्थापन र व्यवसाय विस्तारमा सन्तुलन मिलाउँदा विकास बैंकहरूले ९ महिनामा सुखद वित्तीय नतिजा निकालेका छन्।

अर्थ चाैतारी ।