काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षाको नीतिगत व्यवस्थाअनुसार चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।
केन्द्रीय बैंकका अनुसार विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप नै रहने प्रक्षेपण गरिएको छ । सोही प्रक्षेपणको आधारमा र हालको न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गर्दै लचिलो मौद्रिक नीतिको कार्यदिशालाई तेस्रो त्रैमासिकमा पनि निरन्तरता दिइएको हो ।
यसैगरी, राष्ट्र बैंकले विद्यमान नीतिगत दरहरूमा कुनै परिवर्तन गरेको छैन । नीतिगत व्यवस्थामा उल्लेख भएअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थाहरूलाई यथावत् कायम राखिएको छ ।
यद्यपि, ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधाको व्यवस्थालाई भने पुनरवलोकन गरिने केन्द्रीय बैंकले जनाएको छ ।
मूल्यवृद्धि वाञ्छित सीमाभित्रै, आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने अनुमान
समीक्षा अवधिमा मुद्रास्फीति राष्ट्र बैंकको लक्ष्यभन्दा निकै तल रहेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ, जुन ५.० प्रतिशतभित्र सीमित राख्ने राष्ट्र बैंकको लक्ष्यभित्रै हो । यद्यपि, २०८२ चैतमा भने वार्षिक बिन्दुगत मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ ।
त्यसैगरी, राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने जनाएको छ । कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत, उद्योग क्षेत्रको १.६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.२१ प्रतिशत कायम हुने अनुमान छ ।
विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा उल्लेख्य वृद्धि
अर्थतन्त्रको बाह्य क्षेत्र सहज स्थितिमा रहेको समीक्षाले देखाएको छ । चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई रु। १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ ।
विप्रेषणमा आएको उच्च वृद्धिका कारण चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले र शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोडले बचतमा रहेको छ । फलस्वरूप, विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च अर्थात् ३४ खर्ब ९४ अर्ब ७७ करोड पुगेको छ । यो सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ, जुन कम्तीमा ७ महिनाको आयात धान्न पुग्ने कायम गर्ने लक्ष्यभन्दा निकै माथि हो ।
त्यस्तै, यस अवधिमा कुल वस्तु निर्यात १८.५ प्रतिशतले र आयात १३.८ प्रतिशतले वृद्धि भएको छ भने कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदर
वित्तीय प्रणालीमा न्यून ब्याजदरसहित लगानीयोग्य तरलता पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०८२ चैत महिनामा निक्षेपको भारित औसत ब्याजदर वाणिज्य बैंकहरूको ३.४० प्रतिशत, विकास बैंकहरूको ३.७७ प्रतिशत र वित्त कम्पनीहरूको ४.७४ प्रतिशत कायम भएको छ । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर पनि घटेर वाणिज्य बैंकको ६.७७ प्रतिशतमा झरेको छ । नौ महिनाको अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भएको छ ।
तरलताको स्थिति लगातार लामो समय अधिक रहँदा विभिन्न समष्टिगत आर्थिक परिसूचकमा पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्न बैंक सजग रहेको समेत समीक्षामा उल्लेख छ ।
Skip to PDF content
अर्थ चाैतारी ।