logo

२०८३ जेष्ठ ४, सोमबार

logo
  • २०८३ जेष्ठ ४, सोमबार
  • राजमार्गमा ईभी चार्जको समस्याले यात्रु अलपत्र पर्ने गरेको भन्दै आशिकाले गराइन् ध्यानाकर्षण

    राजमार्गमा ईभी चार्जको समस्याले यात्रु अलपत्र पर्ने गरेको भन्दै आशिकाले गराइन् ध्यानाकर्षण

    338
    SHARES
    राजमार्गमा ईभी चार्जको समस्याले यात्रु अलपत्र पर्ने गरेको भन्दै आशिकाले गराइन् ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गमा विद्युत् आपूर्तिको समस्याका कारण विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरू मर्कामा परेको बताएकी छिन् ।



    सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङ क्षेत्र नम्बर १ मा पर्ने राष्ट्रिय राजमार्गमा चार्जिङ स्टेशनहरू भए पनि बिजुली नहुँदा यात्रुहरू अलपत्र पर्ने गरेको गुनासो गरेकी हुन् ।

    ‘अहिले पेट्रोल र डिजेलको मूल्य अत्यधिक महँगो छ, जसका कारण धेरैले ईभी प्रयोग गर्न थालेका छन् । तर यात्राका क्रममा गाडीको चार्ज सकिएपछि चार्ज गर्न खोज्दा बिजुली हुँदैन,’ उनले भनिन्, ‘लाइन नभएपछि चार्जिङ स्टेशनहरू बन्द हुन्छन् र यात्रुहरू बीच बाटोमै अलपत्र पर्छन् ।’

    उनले पृथ्वी राजमार्ग धादिङबासीको मात्र नभई देशभरका मानिसहरू हिँड्ने राष्ट्रिय राजमार्ग भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याहरू धेरै रहेको बताइन् । ‘राष्ट्रिय राजमार्गमा यति धेरै समस्याहरू छन् कि ती सबै लेख्ने हो भने दुईवटा किताब नै भरिन्छ होला । तर समयको पावबन्दीका कारण मैले यो जल्दोबल्दो समस्या मात्र उठाएकी हुँ,’ उनले भनिन्।

    सांसद तामाङले बिजुली नभएपछि यात्रुहरूले सञ्चार सम्पर्कका लागि मोबाइल समेत चार्ज गर्न नपाउने र सहयोगका लागि कसैलाई सम्पर्क गर्न समेत कठिन हुने अवस्था रहेको बताइन् ।

    उनले सरकारलाई राष्ट्रिय राजमार्गमा चौबिसै घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्न र चार्जिङ स्टेशनहरूको प्रभावकारिता बढाउन माग गरेकी छिन् । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गए पनि राजमार्गहरूमा पर्याप्त र भरपर्दो चार्जिङ पूर्वाधार नहुँदा लामो दुरीका यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट