logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • सामसङमा हडताल स्थगित भएपछि कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतको वृद्धि

    सामसङमा हडताल स्थगित भएपछि कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतको वृद्धि

    260
    SHARES
    सामसङमा हडताल स्थगित भएपछि कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतको वृद्धि

    एजेन्सी । सामसङ इलेक्ट्रोनिक्सको सेयर मूल्यमा बिहीबार ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बुधबार ढिलो गरी मजदुर युनियनले १८ दिने प्रस्तावित हडताल स्थगित गरेपछि दक्षिण कोरियाली चिप निर्माता कम्पनीमा हुनसक्ने अवरोधको चिन्ता कम भएसँगै यो वृद्धि देखिएको हो ।



    बुधबार सरकारको मध्यस्थतामा भएको वार्ता विफल भएपछि युनियनले हडताल अघि बढाउने बताएको थियो । तर, दक्षिण कोरियाका श्रम तथा रोजगार मन्त्री किम योङ–हुनको नेतृत्वमा भएको अर्को चरणको वार्ताले एउटा प्रारम्भिक सम्झौताको रूप लियो । एनभिडियाले रातारात सार्वजनिक गरेको अर्को बलियो त्रैमासिक रिपोर्टका कारण सेमिकन्डक्टर स्टकहरूमा देखिएको उत्साहले पनि सामसङको सेयर बढ्न मद्दत पुर्यायो । एनभिडियाको राजस्व अघिल्लो वर्षको ४४.०६ अर्ब डलरबाट ८५ प्रतिशतले बढेर ८१.६२ अर्ब डलर पुगेको छ ।

    सामसङको मजदुर युनियनले एक विज्ञप्ति जारी गर्दै आम हडताल स्थगित गरिएको र युनियनका सबै सदस्यहरूले मे २२ देखि २७ सम्म प्रारम्भिक तलब सम्झौतामा मतदान गर्ने बताएको छ । सरकारी प्रसारक केटिभीद्वारा युट्युबमा प्रसारित एक ब्रिफिङका क्रममा मन्त्री किमले यो अझै पनि अस्थायी सम्झौता मात्र भएको र अन्तिम सम्झौता हुन अझै लामो यात्रा बाँकी रहेको कुरामा जोड दिए । उनले विभिन्न मुद्दाहरू अझै सुल्झिन बाँकी रहे पनि दुई पक्षबीचको दूरी निकै कम भएको र युनियनले महत्त्वपूर्ण सम्झौताहरू गरेको बताए ।

    दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार, अत्यधिक नाफा कमाउने चिप डिभिजनले कुल बोनस रकमको ४० प्रतिशत प्राप्त गर्नेछ भने अन्य व्यापारिक शाखाहरूले ६० प्रतिशत पाउनेछन् । सामसङका घाटामा रहेका डिभिजनहरूमा बोनस कसरी बाँड्ने भन्ने विवादास्पद निर्णयलाई भने एक वर्षका लागि सारिएको योनहापले रिपोर्ट गरेको छ । रोयटर्सले एक युनियन वार्ताकार र युनियनद्वारा साझा गरिएको दस्तावेजलाई उद्धृत गर्दै सामसङले आफ्नो चिप डिभिजनलाई सञ्चालन नाफाको १०.५ प्रतिशत बराबरको विशेष बोनस छुट्याउने रिपोर्ट गरेको छ । साथै, बोनसलाई सञ्चालन नाफासँग जोड्ने र बोनसको अधिकतम सीमा खारेज गर्ने युनियनको मागलाई पनि कम्पनीले स्वीकार गरेको छ ।

    सामसङले कम्तीमा १० वर्षको अवधिमा कम्पनीको सेयरमार्फत विशेष बोनसको आंशिक भुक्तानी गर्ने योनहापले पनि रिपोर्ट गरेको छ । तर, यो सन् २०२६ देखि २०२८ सम्म चिप डिभिजनले १३३.६५ अर्ब डलरको सञ्चालन नाफाको लक्ष्य पार गरेको खण्डमा मात्र लागू हुनेछ । युनियनको कागजातलाई उद्धृत गर्दै रोयटर्सले सन् २०२९ देखि २०३५ सम्मका लागि भने यो लक्ष्य घटाएर १०० ट्रिलियन वन कायम गरिएको जनाएको छ ।

    युनियनले यसअघि सामसङको सञ्चालन नाफाको १५ प्रतिशत बराबरको कार्यसम्पादन बोनस, बोनस भुक्तानीको सीमा हटाउनुपर्ने र बोनसको औपचारिक संरचना बनाउनुपर्ने लगायतका मागहरू राखेको थियो । प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सले गत सेप्टेम्बरमा सञ्चालन नाफाको १० प्रतिशत आफ्ना कामदारहरूलाई बोनसका रूपमा छुट्याउने तलब सम्झौता गरेको थियो ।

    वार्ता असफल भएपछि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले मन्त्रिपरिषद्को बैठकमा सामसङको नाम नलिई आफ्नो धारणा राखेका थिए । उनले भनेका थिए, ‘केही मजदुर युनियनहरूले आफ्नो अधिकारमार्फत आफ्नो स्वार्थ रक्षाका लागि काम गर्नु बुझ्न सकिने कुरा भए पनि यसको उचित सीमा हुनुपर्छ ।’ दक्षिण कोरियाका प्रधानमन्त्री किम मिन–सोकले १८ दिने हडतालबाट करिब १० खर्ब वन प्रत्यक्ष नोक्सानी हुन सक्ने अनुमान गरेका थिए । चिप उत्पादनमा अवरोध आएर सामसङले उत्पादनको क्रममा रहेका सेमिकन्डक्टर वेफरहरू फाल्नुपर्ने अवस्था आएमा आर्थिक क्षति १०० ट्रिलियन वनसम्म पुग्न सक्छ ।

    सामसङ इलेक्ट्रोनिक्सले दक्षिण कोरियाको निर्यातको २२.८ प्रतिशत र कुल बजार पुँजीकरणको २६ प्रतिशत हिस्सा ओगटेको कुरामा उनले जोड दिए । सोलको राष्ट्रपतिको कार्यालयले सामसङ इलेक्ट्रोनिक्सको राजस्वले देशको कुल गार्हस्थ्य उत्पादन (जीडपी) को १२.५ प्रतिशत हिस्सा ओगट्ने कुरा पनि जानकारी दिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट