काठमाण्डौ । अभिनेता निखिल उप्रेतीले नेपाली चलचित्र क्षेत्रको घेरालाई फराकिलो बनाउँदै विश्व बजारमा प्रतिष्पर्धा गर्न कलाकार र पत्रकारबीच प्रगाढ सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
एक कार्यक्रममा बोल्दै उनले चलचित्र उद्योगको विकासका लागि युवा ऊर्जा र सत्यपरक पत्रकारिता अपरिहार्य रहेको बताए। उप्रेतीले कलाकार र पत्रकार एउटै सिक्काका दुई पाटा भएको उल्लेख गरे। कलाकारलाई पत्रकारको र पत्रकारलाई कलाकारको अभाव खट्किने भन्दै उनले दुवै पक्षबिचको सम्बन्ध कहिलेकाहीँ उतारचढावपूर्ण देखिए पनि यो अटुट रहने धारणा व्यक्त गरे।
देशको वर्तमान अवस्था र व्यवस्था परिवर्तन भइरहेको सन्दर्भमा अबको समय युवाको भएको उनको तर्क छ। राजनीतिमा युवा शब्दको दुरुपयोग भएकोप्रति संकेत गर्दै उनले चलचित्र क्षेत्रमा भने युवाहरूको जोश र जाँगरले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
उप्रेतीले भने, ‘हाम्रो शास्त्रमा बालकृष्ण र बटुक भैरवको पूजा गरिनुको अर्थ युवा अवस्थाको असीमित शक्तिलाई सम्मान गर्नु हो। युवा शक्तिसँग नतिजा निकाल्ने अद्भूत क्षमता हुन्छ, तर त्यसलाई सही दिशा दिन अग्रजहरूको अनुभव र सुझाव पनि उत्तिकै आवश्यक पर्दछ।’
विदेशी चलचित्रको विरोध गरेर वा तिनलाई रोकेर मात्र स्वदेशी चलचित्रको हित नहुने भन्दै उनले आफ्नो खुबी र गुणस्तर सुधारेर प्रतिष्पर्धामा उत्रिनुपर्ने बताए। उप्रेतीले समाजका हरेक क्षेत्रमा ‘अभिनय’ विद्यमान रहेको टिप्पणी गरे। कलाकार र पत्रकारले मात्र नभई राजनीतिक क्षेत्रमा अझ बढी अभिनय देखिनु विडम्बनापूर्ण रहेको उनको भनाइ छ। उनले कलाकारहरू अब आफ्नो पेशागत मर्यादा र कलामा थप प्रखर हुनुपर्ने आवश्यकता औँल्याए।
अर्थ चाैतारी ।