logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

    338
    SHARES
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

    काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलान्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको सोमबारदेखि पुनः निर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा उक्त परियोजनाको शिलान्यास गरे ।



    जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक खण्डमा पर्ने तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेहले जानकारी दिए । उनका अनुसार २०८१ असोज १२ को बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक र सिन्धुली करिब ३० किलोमिटर सडक खण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने देखिएको छ ।

    पिप्ले–बर्खेखोला सडकखण्डको जापानस्थित सिमिजु कर्पोरेसनले निर्माणको जिम्मा लिएको हो । योगेशका अनुसार जापानले दुई अर्ब ८० करोड येन अनुदान दिने गरी २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो । बाँकी प्रक्रिया पूरा गरेर निर्माण सुरु गरिएको जनाइएको छ । यसअघि जाइका टोलीले पूर्वतयारी स्वरुप क्याम्प बनाउने, अस्थायी बाटो बनाउनेलगायत काम गरेको छ । योसमेत गरी हाल बिपी राजमार्गको क्षतिग्रस्त सडक चार खण्डमा निर्माणाधीन अवस्थामा रहेको हो ।

    यसअघि हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडक खण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ । विसं २०८१ असोजकै बाढीपहिरो तथा २०८२ को वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पुर्‍याएर स्थायी पुनः निर्माण थालिएको हो । क्षति पुर्‍याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको योगशले जानकारी दिए ।

    यस्तै डालाबेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको उनले बताए । गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाइ कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताउनुभयो । अबको पुनः निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो ।

    “पुनः निर्माण हुने सडक खण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई दुई लेनको निर्माण गरिनेछ”, योगेशले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्ने योजना बनाइएको छ । डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनः निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाखमा निर्माण गर्नेगरी ठेक्का दिइएको छ ।

    यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनः निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाख, नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड (भ्याटसहित) मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

    कार्यालयले जाइकाले निर्माण गर्ने सडक खण्ड बाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनः निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलान्चोकतर्फका तीन सडक खण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडक खण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट