logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • प्रेमले चोरेरै किने घर र गाडी, ६ करोड बढी सम्पत्ति अवैध देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा

    प्रेमले चोरेरै किने घर र गाडी, ६ करोड बढी सम्पत्ति अवैध देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा

    195
    SHARES
    प्रेमले चोरेरै किने घर र गाडी, ६ करोड बढी सम्पत्ति अवैध देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा

    काठमाण्डौ । सामान्यतया चोरी गर्नेहरू जीविकोपार्जन वा मोजमस्तीका लागि यो बाटो रोज्छन् । तर, बाँकेका ४१ वर्षीय प्रेम थारू (जसलाई सुप्रिम, विकास र सौरभ चौधरीका नामले पनि चिनिन्छ) को कथा भने फरक छ । उनले चोरीलाई नै एउटा सफल ‘व्यवसाय’ जस्तो बनाएर करोडौंको सम्पत्ति जोडेको खुलासा भएको छ ।



    जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गत माघ २१ गते नागार्जुनको रामकोट (पुरीगाउँ) बाट गोली चलाएर नियन्त्रणमा लिएका थारूविरुद्ध अहिले जिल्ला अदालत काठमाण्डौमा चोरीसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दर्ता भएको छ ।

    चोरीको पैसाले विलासी जीवन

    प्रहरी अनुसन्धानका क्रममा थारूले चोरीकै रकमबाट बाँकेको कोहलपुरमा साढे ३ तले पक्की घर बनाएको र ९८ लाख रुपैयाँमा टोयोटा हाइलक्स गाडी खरिद गरेको खुलेको छ । उनले करिब ५-७ वर्षअघि ४० लाखमा २ कठ्ठा जग्गा किनेर सो घर बनाएका थिए ।

    थारूले ९८ लाखमा किनेको ‘प्रदेश ०३-०२३ च ४२२८’ नम्बरको हाइलक्स गाडी गत पुस १८ गते बुटवलका देवीलाल वलीलाई ५५ लाखमा बिक्री गरेको दाबी गरे पनि प्राविधिक रूपमा उक्त गाडी अझै उनकै नाममा रहेको पाइएको छ । प्रहरीले उनको कुल ६ करोड २२ लाख १६ हजार २१६ रुपैयाँ बराबरको सम्पत्ति अवैध देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

     

    बौद्धको त्यो ठूलो चोरी र प्रहरी इन्काउन्टर

    गत माघ २० गते बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट दिउँसोको समयमा करिब ६५ तोला सुन (७६४.३५ ग्राम) र १ किलो १५२ ग्राम चाँदीसहित करोडौँको धनमाल चोरी भएको थियो । पीडितले करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका थिए ।

    सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले माघ २१ गते उनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको थियो, जहाँ उनको दाहिने खुट्टामा गोली लागेको थियो । पक्राउ पर्दा उनको साथबाट ठूलो परिमाणमा सुन, चाँदी र नगद बरामद भएको थियो ।

     

    १६ देशका मुद्रा र विभिन्न बैंकमा पैसा

    प्रहरीले बाँकेको राप्ती सोनारी-३ स्थित उनको घरमा खानतलासी गर्दा १६ देशका मुद्राहरू फेला पारेको थियो । जसमा अमेरिकी डलर, कतारी रियाल, चिनियाँ युआन, अस्ट्रेलियन डलर, र फ्रान्सको बैंकको एटीएम कार्डसमेत रहेका छन् ।

    यति मात्र होइन, उनको विभिन्न बैंक खातामा १८ लाख रुपैयाँभन्दा बढी नगद मौज्दात देखिएको छ । एभरेस्ट बैंकमा १६ लाख २४ हजार, नबिल बैंकमा २ लाख ३४ हजार र साइन रेसुङ्गा बैंकमा १२ हजार रुपैयाँ भेटिएको छ । प्रहरीले उनको बैंक खाता, गाडी र जग्गा जमिन सबै जफत गर्न मागदाबी गरेको छ ।

     

    भेष बदल्न र नाम फेर्न माहिर

    थारूले चोरी गर्दा आफ्नो पहिचान लुकाउन अन्य व्यक्तिको नागरिकता प्रयोग गर्ने गरेको पाइएको छ । उनले पर्साका दीपक श्रेष्ठ र भोजपुरका निर्मल प्रधानको सक्कली नागरिकतामा आफ्नो फोटो टाँसेर कोठा भाडामा लिने र रेकी गर्ने गर्दथे । दिउँसोको समयमा मान्छेको लवाइ-खवाइ हेरेर सम्पत्तिको आकलन गर्ने र मौका पाउनासाथ चोरी गर्ने उनको शैली थियो । उनले चोरी गरेका सामानहरू प्रायः भारतीय सीमा नाकामा पुर्‍याएर बिक्री गर्ने गरेको स्वीकारेका छन् ।

    ‘पेरोल’ सुविधाको दुरुपयोग

    प्रेम थारू पुराना ‘पटके’ चोर हुन् । यसअघि बौद्ध वृत्तबाटै उनीविरुद्ध दुई पटक मुद्दा चलेको थियो । २०७९ मङ्सिर २९ गते मुद्दा चली ३ वर्ष कैद सजाय पाएका उनी ‘असल चालचलन’ भएको भन्दै कारागार बाहिरै बसेर कैद भुक्तान गर्न मिल्ने ‘पेरोल’ सुविधा अन्तर्गत २०८२ जेठ २५ गते छुटेका थिए । तर, जेलबाट छुटेको केही समयमै उनले पुनः ठूला चोरीका घटनाहरू घटाउन सुरु गरे ।

    हाल उनीविरुद्ध काठमाण्डौ मात्र नभई ललितपुर, सातदोबाटो र मकवानपुरमा समेत जाहेरी परेको छ । प्रहरीले उनको अकुत सम्पत्तिको स्रोत केवल चोरी नै भएको निष्कर्ष निकाल्दै कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट