logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • ३२ हजार भन्दा बढी सहकारीमा साढे १० खर्ब बचत

    ३२ हजार भन्दा बढी सहकारीमा साढे १० खर्ब बचत

    182
    SHARES
    ३२ हजार भन्दा बढी सहकारीमा साढे १० खर्ब बचत

    काठमाण्डौ । नेपालको सहकारी क्षेत्रमा ठुलो जनसङ्ख्या र पुँजी परिचालन भएको देखिएको छ । बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । अर्थमन्त्री वाग्लेका अनुसार अहिलेसम्म मुलुकभर ३२ हजार ३ सय २५ सहकारी संस्था रहेका छन् । पछिल्लो समय धेरै जसो सहकारी समस्याग्रस्त भए पनि ती सहकारीको दायित्व फरफारक भने सुस्त रहेको तथ्याङ्कले देखाएको छ ।



    सर्वेक्षण अनुसार मुलुकभर ३२ हजार ३ सय २५ सहकारीमा १ करोड १ लाख ६० हजार ९ सय ६३ जना सेयर सदस्य आबद्ध रहेको देखिएको छ । यी संस्थाहरूमा १ खर्ब ४३ अर्ब २९ करोड सेयर पुँजी रहेको छ । सहकारी क्षेत्रमा निक्षेप तथा कर्जाको आकार पनि निकै ठुलो छ । २०८२ फागुनसम्म सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ । त्यस्तै, जसबाट ९ खर्ब ५ अर्ब ४८ करोड कर्जा प्रवाह भएको छ । यस क्षेत्रले ८२ हजार २ सय १६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको सर्वेक्षणमा उल्लेख छ ।

    नियामकीय व्यवस्था

    सहकारीसम्बन्धी एकीकृत तथ्याङ्क राख्न विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा आबद्ध हुने संस्थाको संख्या बढेको सर्वेक्षणमा उल्लेख छ । २०८१ असारसम्म १८ हजार ८ सय ९७ संस्था आबद्ध रहेकोमा २०८२ फागुनसम्ममा यो संख्या १९ हजार ९ सय ३ पुगेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले नेपालको सहकारी क्षेत्रको नियमन गर्दै ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ तथा नियामकीय मापदण्ड, २०८२ (पहिलो संशोधन) पनि जारी भएको छ ।

    ४७ अर्ब मागदाबी, साढे २ अर्ब मात्रै भुक्तानी

    आर्थिक सर्वेक्षणले समस्याग्रस्त सहकारीको डरलाग्दो चित्र प्रस्तुत गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट समस्याग्रस्त घोषित २३ सहकारी संस्थामध्ये जम्मा ३ वटा संस्था मात्र राफसाफ भएका छन् । बाँकी २० समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन अझै बाँकी छ । हालसम्म विभिन्न चरणमा कुल ८० हजार ८७ दाबीकर्ताहरूले ४७ अर्ब ६० करोड १३ लाख मागदाबी दर्ता गराएका छन् । तर भुक्तानीको अवस्था भने निकै कमजोर छ ।

    हालसम्म ३ हजार ६ सय ८८ दाबीकर्तालाई पूर्ण रूपमा कुल २ अर्ब ५४ करोड ६८ लाख मात्र माग दाबी भुक्तान गरिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म थप ८ हजार ७ सय ६३ दाबीकर्तालाई आंशिक रूपमा १२ करोड २३ लाख रकम फिर्ता गरिएको छ ।

     

    साना किसान र कृषि सहकारीमार्फत कर्जा

    ग्रामीण क्षेत्रका साना किसानहरूद्वारा स्थापित र सञ्चालित साना किसान कृषि सहकारी संस्था र समान प्रकृतिका अन्य सहकारी संस्थामार्फत कृषि तथा लघु उद्यमका लागि थोक कर्जा प्रवाह भइरहेको छ । २०८२ फागुनसम्म साना किसान विकास लघुवित्त वित्तीय संस्था अन्तर्गत ८८६ साना किसान कृषि सहकारी संस्था र ३४३ अन्य सहकारी संस्था आबद्ध छन् । साना किसान कृषि सहकारी संस्थामार्फत ९ लाख ८१ हजार परिवारले सेवा पाएका छन्।

    यस्ता संस्थामार्फत चालु आर्थिक वर्षको फागुनसम्म ९ अर्ब ७८ करोड ६६ लाख लगानी भएको छ भने १२ अर्ब ९२ करोड ५२ लाख साँवा असुली भएको छ । यसबाट २०८२ फागुनसम्म खुद कर्जा लगानी ३२ अर्ब ७६ करोड ८६ लाख कायम रहेको सर्वेक्षणमा उल्लेख छ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट