logo

२०८३ जेष्ठ १५, शुक्रबार

logo
  • २०८३ जेष्ठ १५, शुक्रबार
  • किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

    किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

    481
    SHARES
    किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

    काठमाण्डौ । किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रले “अंगदाता सम्मान कार्यक्रम” सम्पन्न गरेको छ । मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्‍याउने अंगदाताहरूप्रति सम्मान तथा कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रममा २०० भन्दा बढी अंगदातालाई सम्मान गरिएको अस्पतालले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



    कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरिबाबु महर्जनले गरेका थिए। कार्यक्रममा बोल्दै उनले अंगदानलाई मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै अंगदाताहरू समाजका वास्तविक नायक भएको बताए । “कुनै व्यक्तिको अंगदानले अर्को व्यक्तिलाई नयाँ जीवन दिन सक्छ। यस्तो महान कार्यलाई समाजभर प्रोत्साहन गर्न आवश्यक छ,” उनले भने । उनले किष्ट शिक्षण अस्पतालले निजी क्षेत्रमा प्रत्यारोपण सेवामार्फत उल्लेखनीय योगदान पुर्‍याएको समेत बताए ।

    अस्पतालका अनुसार विगत पाँच वर्षदेखि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल निजी क्षेत्रमै उच्च सफलता दरसहित प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको छ। हालसम्म अस्पतालले २०२ जनामा मिर्गौला प्रत्यारोपण तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरी बिरामीहरूलाई “दोस्रो जीवन” प्रदान गरेको जनाएको छ । निजी अस्पतालहरूमध्ये सबैभन्दा बढी अंग प्रत्यारोपण गर्ने संस्थाका रूपमा किष्ट शिक्षण अस्पताल स्थापित भएको दाबी पनि गरिएको छ।

    अस्पतालले आफ्नो सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिलाउँदै एनएबीएच प्रमाणीकरण प्राप्त गरेको जनाएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एकैसाथ गरिने मिर्गौला र कलेजो प्रत्यारोपण, दुई परिवारबीच आपसी सहमतिमा गरिने अंग प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट गरिने प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक गर्दै आएको अस्पतालले जानकारी दिएको छ । नेपालको सन्दर्भमा एकैसाथ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यक्रिया पहिलोपटक किष्ट शिक्षण अस्पतालले सम्पन्न गरेको उल्लेख गर्दै उक्त उपलब्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित राष्ट्रिय संयुक्त वार्षिक समीक्षा प्रतिवेदन २०७९र८० मा समेत समावेश गरिएको जनाएको छ ।

    अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीहरूमध्ये सबैभन्दा बढी उमेरका ८० वर्षीय तथा सबैभन्दा कम उमेरका १९ वर्षीय बिरामी रहेका छन् । ८० वर्षीया एक महिलामा क्यान्सर रोग पहिचान भए पनि चिकित्सकीय रूपमा अंगदान योग्य ठहरिएपछि उनको अंगदानबाट आफन्तको जीवन बचाउन सफल भएको उदाहरणसमेत अस्पतालले प्रस्तुत गरेको छ। कार्यक्रममा उपत्यकाका अधिकांश नगरप्रमुख तथा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति रहेको अस्पतालले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट