logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • भाडाका सवारी साधनको वार्षिक कर ह्वात्तै बढ्यो, कसको कति ?

    भाडाका सवारी साधनको वार्षिक कर ह्वात्तै बढ्यो, कसको कति ?

    260
    SHARES
    भाडाका सवारी साधनको वार्षिक कर ह्वात्तै बढ्यो, कसको कति ?

    काठमाण्डौ । सरकारले भाडामा प्रयोग हुने विभिन्न प्रकारका सवारी साधनहरूको वार्षिक आयकरको दरमा उल्लेख्य वृद्धि गरेको छ । यातायात व्यवस्था कार्यालयमार्फत सवारी साधन दर्ता वा नवीकरण गर्दा धनीले बुझाउनुपर्ने वार्षिक करको दरलाई परिमार्जन गर्दै सरकारले सार्वजनिक तथा व्यावसायिक सवारी साधनको लागत बढाएको हो । सानादेखि ठूला र विद्युतीय सवारीसम्मका करमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ।



    नयाँ दररेट अनुसार १३०० सीसीसम्मका कार, जिप, भ्यान र माइक्रो बसको कर ५ हजार ५ सयबाट बढेर ६ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यसैगरी, १३०१ देखि २००० सीसीसम्मका लागि ७ हजार, २००१ देखि २९०० सीसीसम्मका लागि ७ हजार ५ सय, २९०१ देखि ४००० सीसीसम्मका लागि ९ हजार ५ सय र ४००० सीसीभन्दा माथिका यस्ता सवारी साधनका लागि ११ हजार रुपैयाँ वार्षिक कर निर्धारण गरिएको छ। यसअघि यी सवारीको कर क्रमशः ६ हजार, ६ हजार ५ सय, ८ हजार र ९ हजार रुपैयाँ मात्र रहेको थियो।

    मध्यम र ठूला मालबाहक तथा सार्वजनिक सवारीको करमा पनि ठूलो वृद्धि गरिएको छ । मिनी ट्रक, मिनी बस र पानी ट्याङ्करको कर ८ हजारबाट बढाएर ९ हजार ५ सय पुर्‍याइएको छ भने मिनी टिप्परको कर ९ हजारबाट बढाएर ११ हजार कायम गरिएको छ ।

    ठूला ट्रक र बसले अब १० हजार ५ सयको सट्टा १२ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता हेभी मेसिनरी उपकरण र तेल ट्याङ्कर, ग्यास बुलेट तथा टिप्परको कर साविकको १५ हजार ५ सयबाट बढेर १७ हजार ५ सय रुपैयाँ पुगेको छ।

    साना र कृषि क्षेत्रमा प्रयोग हुने सवारी साधनको करमा पनि १ हजार रुपैयाँको वृद्धि भएको छ । ट्रयाक्टर, अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको कर २ हजार ५ सयबाट बढेर ३ हजार ५ सय पुगेको छ भने पावर टिलरको कर २ हजारबाट बढेर ३ हजार रुपैयाँ पुगेको छ ।

    विद्युतीय सवारी साधनतर्फ ५० किलोवाटसम्मको ४ हजार, ५० देखि १२५ किलोवाटसम्मको ५ हजार, १२५ देखि २०० किलोवाटसम्मको ७ हजार ५ सय र २०० किलोवाटभन्दा माथिको ९ हजार ५ सय रुपैयाँ कर निर्धारण गरिएको छ । विद्युतीय ई रिक्साका लागि ३ हजार ५ सय र भाडाका दुई पाङ्ग्रे सवारी साधनका लागि ३ हजार रुपैयाँ नयाँ कर तोकिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट