logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ई-पासपोर्ट ठेक्कामा घोटाला प्रकरण: भेरिएसनको नाममा अर्को ब्रह्मलुट

    ई-पासपोर्ट ठेक्कामा घोटाला प्रकरण: भेरिएसनको नाममा अर्को ब्रह्मलुट

    572
    SHARES
    ई-पासपोर्ट ठेक्कामा घोटाला प्रकरण: भेरिएसनको नाममा अर्को ब्रह्मलुट

    काठमाण्डौ । विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद र छपाइको ठेक्कामा भेरिएसनको नाममा बिचौलिया समूहले राज्यको ढुकुटीमा दाेहन गरेकाे पाइएकाे छ । सिंगापुरमा अफसोर कम्पनी खडा गरी कमिसनबापतको मोटो रकम उतै लगेर कर छली र पुँजी पलायन गरेको आरोप खेपिरहेको यो समूहले अब ‘भेरिएसन आदेश’को अस्त्र प्रयोग गरी अस्वाभाविक रूपमा लागत बढाएर राज्यलाई अर्बौंको थप भार पारेको तथ्य सार्वजनिक भएको छ ।



    खरिद प्रक्रियामा प्रतिस्पर्धालाई निस्तेज पार्ने, कृत्रिम अभाव सिर्जना गर्ने र सेटिङमा महँगो मूल्यमा सम्झौता थप गराएर त्यसबाट आउने मोटो रकम विदेशमै व्यवस्थापन गर्ने बिचौलियाहरूको गम्भीर षड्यन्त्र पछिल्ला विवरणहरूले उजागर गरेका छन् ।

    प्रतिस्पर्धा छल्दै महँगो खरिद, प्रतिपासपोर्ट ४ डलरसम्म नोक्सानी

    राहदानी विभागले सन् २०२० मा ई-पासपोर्ट, पर्सोनलाइजेसन मेसिन र इन्रोलमेन्ट प्रणाली आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा फ्रान्सेली कम्पनी आईडीईमियाले प्रति राहदानी करिब १०.१३ अमेरिकी डलरको दरमा ठेक्का पाएको थियो । तर, सन् २०२२ को मध्यतिर राहदानी विभागको गोदाममा ४ लाखभन्दा बढी ई-पासपोर्ट मौज्दात हुँदाहुँदै नयाँ प्रतिस्पर्धात्मक बोलपत्रमा जानुको साटो बिचौलियाको प्रभावमा मन्त्रिपरिषद्‌बाटै निर्णय गराएर आईडीईमियालाई नै २८ लाख राहदानी छाप्ने भेरिएसन आदेश दिइयो ।

    विश्वबजारमा प्रविधि सस्तो हुँदै जाँदा सन् २०२५ मा भएको नयाँ ई-पासपोर्ट खरिदको बोलपत्रमा औसत लागत घटेर प्रति पुस्तिका करिब ८.५३ अमेरिकी डलरमा झरेको छ । विज्ञहरूका अनुसार प्रणालीको लागत छुट्ट्याउने हो भने पुस्तिकाको मूल्य ७ डलरभन्दा कम पर्न आउँछ । यसको अर्थ सन् २०२२ मा नयाँ टेन्डरमा नगई पुरानै दरमा भेरिएसनमार्फत राहदानी खरिद गर्दा राज्यले प्रति पुस्तिका ३ देखि ४ डलरसम्म अतिरिक्त रकम गुमाएको छ । यो हिसाबले राज्यलाई थप १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको भार थपिएको छ ।

     

    सस्तो हुने बेला झन् महँगोको प्रस्ताव

    सन् २०२५ नोभेम्बरमा राहदानी विभागसँग अझै दुई लाखभन्दा बढी पासपोर्ट मौज्दात थियो । यही बेला आईडीईमियाले नयाँ भेरिएसन आदेशका लागि अघिल्लो सम्झौताभन्दा पनि महँगो अर्थात् प्रति पुस्तिका १५ अमेरिकी डलरको अस्वाभाविक प्रस्ताव राख्यो । निकै ठुलो विवाद र मोलमोलाइपछि अन्ततः सरकारले करिब ७ लाख थप राहदानी भेरिएसन आदेशमार्फत नै प्रति पुस्तिका १०.५३ अमेरिकी डलरमा खरिद गर्ने निर्णय गर्‍यो । बजारमा ८ डलरभन्दा कममा पाइने राहदानीलाई १०.५३ डलर तिर्नुले सार्वजनिक खरिद प्रक्रियामा बिचौलियाको दबदबा कति छ भन्ने प्रस्ट्याउँछ ।

     

    कमिसनको अफसोर सञ्जाल

    राज्यलाई पारिएको यो ठुलो आर्थिक भार सामान्य प्रशासनिक त्रुटि नभई सुनियोजित डिजाइन भएको स्रोतको दाबी छ । भेरिएसनमार्फत बढाइएको यही अतिरिक्त रकम नै नेपालको डेल्टा कोर प्रा.लि. र सिंगापुरको क्यापिटल बिज सोलुसनमार्फत बिचौलियाहरूले अफसोर कमिसनका रूपमा बुझ्ने गरेका हुन् । सरकारी प्रविधि तथा पहिचानसम्बन्धी परियोजनाहरूबाट प्राप्त हुने यस्तो अवैध कमिसन सिंगापुरबाट हङकङ हुँदै दुबईसम्म पुर्‍याउने सञ्जाल सक्रिय रहेको यसअघि नै खुलासा भइसकेको छ ।

     

    प्रतिस्पर्धा रोक्न सुरक्षण मुद्रणको अस्त्र

    आईडीईमियाको नेपालभित्रको व्यवस्थापन र बिचौलिया सञ्जालमा सिद्धार्थ पाण्डे लगायतको समूहको रणनीतिक र प्रभावशाली भूमिका रहेको दाबी गरिएको छ ।नयाँ  प्रतिस्पर्धात्मक टेन्डर आह्वान गर्दा अन्य कम्पनीले सस्तोमा ठेक्का पाउन सक्ने र आफ्नो एकाधिकार गुम्ने डरले यो समूहले कानुनी र नीतिगत छिद्रहरूको दुरुपयोग गर्दै आएको छ । स्रोतका अनुसार राहदानी खरिदको संक्रमणकालीन समयमा पाण्डेले नियोजित रूपमै सार्वजनिक सरोकारको रिट (पीआईएल) मार्फत राहदानी विभागले सुरक्षण मुद्रण कम्पनीबाटै राहदानी छाप्नुपर्ने तर्क अघि सारेका थिए ।

    तर यथार्थमा, सुरक्षण मुद्रण कम्पनीसँग ठुलो मात्रामा ई-पासपोर्ट उत्पादन गर्ने भौतिक पूर्वाधार, बजेट र दक्ष जनशक्ति नै छैन । राहदानी विभागले समेत उक्त कम्पनी तत्काल प्राविधिक रूपमा तयार नरहेको भन्दै लिखित जवाफ नै दिइसकेको छ ।

    स्वदेशमै छाप्ने राष्ट्रवादी आवरणको मुद्दा मामिला गरेर नयाँ अन्तर्राष्ट्रिय टेन्डर प्रक्रियालाई अल्झाउने र त्यही अभाव देखाएर फ्रान्सेली कम्पनी आईडीईमियालाई नै महँगो दरमा भेरिएसन आदेश दिन सरकारलाई बाध्य पार्ने यो बिचौलिया समूहको मुख्य हतियार रहेको जानकारहरू बताउँछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट