logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • विदेशबाट फर्कने नेपालीलाई सरकारको उपहार, अब ६५ इन्चसम्मको टेलिभिजन ल्याउन पाइने

    विदेशबाट फर्कने नेपालीलाई सरकारको उपहार, अब ६५ इन्चसम्मको टेलिभिजन ल्याउन पाइने

    78
    SHARES
    विदेशबाट फर्कने नेपालीलाई सरकारको उपहार, अब ६५ इन्चसम्मको टेलिभिजन ल्याउन पाइने

    काठमाण्डौ । वैदेशिक रोजगारबाट नेपाल फर्कने नेपालीका लागि सरकारले टेलिभिजन ल्याउन थप सुविधा दिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटपछि सरकारले यात्रुले आफ्नो साथमा ल्याउने र लैजाने वस्तु सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरेको छ । सो सूचना अनुसार विदेशबाट फर्कने नेपाली यात्रीहरूका लागि व्यक्तिगत प्रयोगका सामान ल्याउन पाउने सुविधामा थप छुट दिएको छ ।



    अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै अब वैदेशिक रोजगारीबाट फर्कने नेपालीले ६५ इन्चसम्मको टेलिभिजन बिना भन्सार (महसुल छुटमा) ल्याउन पाउने व्यवस्था गरेको हो। यसका लागि कम्तिमा एक वर्ष वैदेशिक रोजगारीमा काम गरेर फर्किएका नेपालीले मात्रै यो सुविधा पाउने छन ।

    यो व्यवस्था अनुसार यात्रुले आफूसँगै ल्याएको ६५ इन्चसम्मको जुनसुकै प्रकारको (एलइडी वा एलसीडी) एक थान टेलिभिजनमा कुनै पनि भन्सार महसुल तिर्नु पर्ने छैन। यस अघि २०८२ को बजेटपछि भने सामिजक सुरक्षा कोषमा सूचीकृतलाई जुनसुकै जुनसुकै आकार भनिएपनि सूचीकृत नहुनेको हकमा भने ३२ इन्चको टिभि मात्रै भन्सार छुटमा ल्याउन पाइने व्यवस्था थियो ।

    टेलिभिजनमा परिवर्तन भए पनि मोबाइल फोनको हकमा भने पुरानै व्यवस्थालाई निरन्तरता दिइएको छ। श्रम स्वीकृति लिएर कम्तीमा ६ महिना काम गरी फर्केका नेपालीले आफूले प्रयोग गरिरहेको १ थान र थप १ थान नयाँ गरी जम्मा २ थान मोबाइल मात्रै महसुल छुटमा ल्याउन पाउनेछन्। १ थान ल्यापटप वा डेस्कटप कम्प्युटर, १ थान घडी, १ थान क्यामरा र १ लिटरसम्मको मदिरा पनि भन्सार छुटमा ल्याउन पाउने छुट सुविधालाई छ । यो विगतकै सुविधा निरन्तर हो ।

    विदेशबाट फर्केका नेपालीले पाउने भन्सार छूट

    मोबाइल फोन: प्रयोग गरिरहेको १ थान। (श्रम स्वीकृति लिएर ६ महिना काम गरी फर्केकालाई थप १ थान नयाँ गरी जम्मा २ थान)।

    टेलिभिजन: श्रम स्वीकृति लिई १२ महिना काम गरी फर्केकाले ६५ इन्चसम्मको १ थान।

    कम्प्युटर/ल्यापटप: १ थान ल्यापटप वा डेस्कटप कम्प्युटर।

    क्यामरा: १ थान डिजिटल क्यामरा र १ थान भिडियो क्यामरा।

    घडी: १ थान हातमा लगाउने घडी।

    मदिरा: १ लिटरसम्मको १ बोतल (वा १२ क्यान बियर)।

    सुन र चाँदी: भन्सार ऐनले तोकेको परिमाणसम्मका सुनका गहना (५० ग्रामसम्म) र चाँदीका गहना (५०० ग्रामसम्म)। सुनको बिस्कुट वा ढिक्का ल्याउन पाइँदैन।

    लुगाफाटा र ओछ्यान: आफूले प्रयोग गरेका पुराना लुगाफाटा र घर गृहस्थीका पुराना वस्तुहरू।

    खाद्य सामग्री: ७ किलोसम्मका खाद्य परिकार।

    पेशागत सामान: डाक्टर, इन्जिनियर, खेलाडी, कलाकार वा संगीतकारले आफ्नो पेशाका लागि आवश्यक पर्ने १/१ थान सामान (जस्तै: स्टेथेस्कोप, गितार, फुटबल आदि)।

    औषधि: उपचार गराई फर्केका बिरामीले ल्याएका औषधिहरू।

    बच्चाका सामान: बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल १/१ थान।

    भन्सार महसुल तिरेर ल्याउन पाइने थप सामान

    टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, इस्त्री, रेडियो (१/१ थान)।

    लुगाफाटा, जुत्ता, कस्मेटिक्स (बढीमा ५/५ थान)।

    घरायसी विद्युतीय उपकरण (मिक्सर, जुसर, राइस कुकर आदि) बढीमा २/२ थान।

    १० किलोसम्म थप खाद्य परिकार।

    विदेश जाँदा लैजान पाउने सामानको सूची

    स्वदेश फर्कदा ल्याउन पाउने जतिनै व्यक्तिगत प्रयोगका सामान

    कोसेली : प्रचलित कानुनले निकासी निषेध नगरेका स्वदेशी सामानहरू ५० हजार रुपैयाँसम्मको मूल्यमा भन्सार नतिरी लैजान पाइनेछ।

    विदेशी मुद्रा: ५ हजार अमेरिकी डलर वा सो सरहको विदेशी मुद्रा लैजाँदा भन्सारमा घोषणा गर्नुपर्नेछ। सोभन्दा बढी भएमा बैंकको अनुमति पत्र आवश्यक पर्दछ।

    विशेष निषेध गरिएका वस्तुहरू (ल्याउन र लैजान नपाइने)

    सुनको ढिक्का/बिस्कुट: गहना बाहेक सुनको बिस्कुट वा काँचो सुन ल्याउन/लैजान पाइँदैन।

    हातहतियार: हतियार, गोलीगठ्ठा, विष्फोटक पदार्थ।

    लागू औषध: प्रतिबन्धित औषधि र लागू पदार्थ।

    जंगली जनावर र पुरातात्विक वस्तु: संरक्षित जनावरका अङ्ग, ऐतिहासिक र पुरातात्विक महत्त्वका वस्तुहरू।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट