logo

२०८३ जेष्ठ २४, आइतबार

logo
  • २०८३ जेष्ठ २४, आइतबार
  • ‘प्राकृतिक स्रोतमाथिको एकाधिकार अन्त्य गर्ने सरकारी सोच स्वागतयोग्य’ : उद्योगपति बिनोद चौधरी

    ‘प्राकृतिक स्रोतमाथिको एकाधिकार अन्त्य गर्ने सरकारी सोच स्वागतयोग्य’ : उद्योगपति बिनोद चौधरी

    221
    SHARES
    ‘प्राकृतिक स्रोतमाथिको एकाधिकार अन्त्य गर्ने सरकारी सोच स्वागतयोग्य’ : उद्योगपति बिनोद चौधरी

    काठमाण्डौ । नेपालका प्रतिष्ठित उद्योगपति बिनोद चौधरीले राज्यका प्राकृतिक तथा आर्थिक स्रोतहरूमा सीमित व्यक्तिको पहुँच र एकाधिकार (कब्जा) अन्त्य गर्ने सरकारको योजनाको स्वागत गरेका छन्। नेपाल उद्योग परिसंघ (सीएनआई) ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विगतको ‘स्रोत कब्जा’ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन दिनुपर्नेमा जोड दिए।



    चौधरीले अबका दिनमा कुनै पनि आयोजना वा परियोजनाहरू पारदर्शी र खुला प्रतिस्पर्धाको माध्यमबाट मात्र अगाडि बढ्नुपर्ने बताए। उनले भने, ‘विगतमा केही सीमित समूहले मात्रै राज्यका स्रोतहरू ओगट्ने चलन थियो। त्यसलाई चिर्दै पारदर्शी ढंगले आयोजनाहरू अगाडि बढाउने सरकारको वर्तमान प्रतिबद्धता र दृष्टिकोण सकारात्मक छ।’

    मुलुकमा प्रशासनिक, कानुनी र न्यायिक सुधारका प्रक्रियाहरू सुरु भएको चर्चा गर्दै उनले त्यसलाई थप गति दिनुपर्ने आवश्यकता औंल्याए। ‘एकातर्फ हामी सार्वजनिक सेवा प्रवाह र कानुनी सुधारको बाटोमा छौँ भने अर्कोतर्फ देशमा सिर्जना भएको आशावादलाई व्यवहारिक लगानीमा बदल्नुपर्ने चुनौती छ,’ चौधरीले थपे।

    विशेषगरी ऊर्जा क्षेत्रको समस्याप्रति संकेत गर्दै उनले विद्युत खरिद सम्झौता (पीपीए) को पर्खाइमा रहेका हजारौँ मेगावाट क्षमताका आयोजनाहरू लामो समयदेखि थन्किएकाले यसलाई तुरुन्तै निकास दिनुपर्ने बताए।

    सरकारले ल्याएका नयाँ नीति र एजेन्डाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक रूपमा लिइएको भन्दै उनले अब कार्यान्वयनमा ढिलाइ गर्न नहुने उल्लेख गरे।

    पर्यटन र ऊर्जा क्षेत्रमा देखिएका सकारात्मक संकेतहरूलाई ठोस नतिजामा बदल्न सके मात्र मुलुकले विकासको बाटोमा ठूलो फड्को मार्न सक्ने चौधरीको दाबी छ। सरकारको यो नयाँ दृष्टिकोणले लगानीकर्तामा उत्साह थप्ने उनले विश्वास व्यक्त गरे।


    अर्थ चाैतारी
  • आइतबार, २४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट