काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वतन्त्र महिला सञ्चालक पदमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्। बैंकको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहका बीच स्वागत गरेका छन्। उक्त कार्यक्रममा बैंकका अन्य सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतसहित उच्च व्यवस्थापनको उपस्थिति थियो।
भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव छ। सरकारको पूर्वसचिव समेत रहेकी उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिसकेकी छन्।
त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी भट्टराईले अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी र ड्युक युनिभर्सिटीबाट नन्प्रफिट म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेकी छन्।
उनी हाल साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्ट (सावती) को कार्यकारी सदस्य र प्रोफेसनल होल्डिङको स्वतन्त्र सञ्चालकका रूपमा समेत आबद्ध छन्। उनको आगमनले बैंकको व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व र दिगो विकासका लक्ष्यहरूलाई अझ परिष्कृत रूपमा अगाडि बढाउन मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।
अर्थ चाैतारी ।