काठमाण्डौ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्ण समर्पण र इमानदारीका साथ काम गरेमा जीवन र व्यवसायमा कुनै पनि कुरा असम्भव नरहेको बताएका छन्। आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। अध्यक्ष ढकालले आईएमईको सुरुवाती दिनहरू स्मरण गर्दै आफूहरूले शून्यबाट व्यवसायिक यात्रा प्रारम्भ गरेको उल्लेख गरे। रेमिट्यान्स सेवाबाट सुरु भएको आईएमई ग्रुपले अहिले २६ वर्षको अवधिमा विभिन्न क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।
आफ्नो समग्र व्यावसायिक यात्रा ३५ वर्षभन्दा धेरै भइसकेको जानकारी दिँदै ढकालले हाल ग्रुपले बैंकिङ तथा वित्तीय संस्था, पूर्वाधार विकास, पर्यटन, बीमा, सूचना प्रविधि (आईटी) र डिजिटल पेमेन्ट जस्ता विविध क्षेत्रमा लगानी विस्तार गरिसकेको बताए। विगतमा अनौपचारिक माध्यम (हुन्डी) बाट भित्रिने रेमिट्यान्सलाई औपचारिक प्रणालीमा ल्याएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको मिहिनेतको कमाई सुरक्षित रूपमा उनीहरूको परिवारसम्म पुर्याउने उद्देश्यले यो यात्रा सुरु भएको उनले स्पष्ट पारे। आईएमईको यो अभूतपूर्व सफलता कुनै एक व्यक्तिको मात्र नभई सम्पूर्ण टिमको सामूहिक प्रयास र मिहिनेतको परिणाम भएको उनको भनाइ छ।
आफ्ना सङ्घर्षका दिनहरू सम्झिँदै अध्यक्ष ढकालले भने, ‘हामीले एउटा सानो कोठाबाट व्यवसाय सुरु गरेका थियौँ, जहाँ एउटा फलामको फोल्डिङ खाट र एउटा सानो कुकर मात्र थियो । त्यही कोठा नै हाम्रो अफिस, भान्सा र सुत्ने ठाउँ थियो । आजको आधुनिक सुविधा सम्पन्न कार्यालयको तुलनामा ती दिनहरू सायद अहिले कथा जस्ता लाग्न सक्छन् । हामी सबैले सामूहिक स्वामित्व लिएर अघि बढ्ने हो भने कुनै पनि व्यावसायिक गतिविधि र पूर्वाधार निर्माणका कार्यहरू सम्पन्न गर्न सम्भव छ ।’
उनले आगामी दिनमा पनि यही सामूहिक प्रयत्नलाई आत्मसात् गर्दै अझ ठुला परियोजनाहरू सञ्चालन गर्ने र नयाँ व्यावसायिक उचाइ हासिल गर्ने प्रतिबद्धता जनाए। यसैगरी, वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आईएमई अब केवल एउटा रेमिट्यान्स कम्पनीमा मात्र सीमित नरही पूर्ण ‘फाइनान्सियल इकोसिस्टम’ (एकीकृत वित्तीय प्रणाली) का रूपमा अगाडि बढ्ने उद्घोष गरे। कम्पनीको आगामी कार्यदिशा र बजारको बदलिँदो स्वरूपअनुसार आफूहरू परिमार्जित हुन आवश्यक रहेको उनको भनाइ छ।
हालसम्म आईएमईले व्यक्ति–देखि–व्यक्ति रेमिट्यान्स सेवामा बजारमा प्रभुत्व जमाएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता व्यवसाय–देखि–व्यवसाय सेवा हुने उनले स्पष्ट पारे। अध्यक्ष हेमराज ढकालले बीटुबी सेवालाई कम्पनीको आगामी विकास र विस्तारको ‘गेम चेन्जर’ का रूपमा अर्थ्याए। हालै स्ट्राइपसँगको साझेदारीमा खल्ती वालेटमार्फत विदेशबाट सहजै रकम भित्र्याउन सकिने वातावरण बनेको उदाहरण दिँदै उनले अब नेपाली उत्पादन र सेवालाई विश्व बजारमा निर्यात गर्ने व्यवसायीहरूलाई समेत बलियो वित्तीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए।
बदलिँदो प्रविधिको सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ जस्ता नवीनतम प्रविधिलाई आत्मसात् गर्नु समयको माग र बाध्यता रहेको उनले बताए। प्रविधिको विकाससँगै सुरक्षा संवेदनशीलता पनि बढेकाले वित्तीय कारोबारलाई अझ सुरक्षित र विश्वसनीय बनाउनुपर्ने चुनौती रहेको उनले औँल्याए।
कम्पनीको रूपान्तरणबारे बोल्दै उनले भने, ‘हामीले सुरुमा एउटा मनी ट्रान्सफरका रूपमा काम थालेका थियौँ, तर अब हामी बैंकिङ, बीमा र डिजिटल वालेटसहितको एकीकृत वित्तीय सेवा प्रदान गर्ने दिशामा अघि बढिसकेका छौँ । एउटै प्लेटफर्मबाट हाम्रा ग्राहकलाई डिजिटल र भौतिक दुवै रूपमा गुणस्तरीय सेवा दिनु नै हाम्रो मुख्य लक्ष्य हो । नियामक निकायको अपेक्षाअनुसार कम्प्लायन्सलाई थप प्रभावकारी बनाउन नयाँ टुल्स र प्रविधिको प्रयोग अपरिहार्य छ ।’
आफ्ना कर्मचारीहरूलाई नवप्रवर्तकको संज्ञा दिँदै अध्यक्ष ढकालले कम्पनीमा सधैँ नयाँ सोच र अवधारणा लिएर आउन आग्रह गरे। नवप्रवर्तन र नयाँ काम गर्ने क्रममा हुने असफलतालाई पनि सिकाइको एउटा महत्त्वपूर्ण पाटोका रूपमा लिनुपर्ने उनको सुझाव छ। ग्राहकको अपेक्षा र आवश्यकता बुझ्न निरन्तर सिकाइ आवश्यक रहेको उल्लेख गर्दै उनले समयको गतिसँगै चल्न नसक्ने कम्पनीहरू बजारमा पछि पर्ने चेतावनी समेत दिए। विश्व बजारको पछिल्लो प्रवृत्तिअनुसार कम्पनीलाई अझ प्रतिस्पर्धी र ग्राहकमुखी बनाउँदै लैजाने प्रतिबद्धता सो अवसरमा व्यक्त गरियो।
अर्थ चाैतारी ।