logo

२०८३ असार ७, आइतबार

logo
  • २०८३ असार ७, आइतबार
  • नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

    नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

    182
    SHARES
    नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

    काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताएकी छन्। आइतबार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ प्रवचन कार्यक्रममा उनले यस्तो बताएकी हुन्। १९ औँ शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमसत्ताको रक्षा गर्न जङ्गबहादुर राणाले महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको भनाई छ।



    दक्षिण एशियाको अधिकांश भूभाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको अवस्थामा पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल भएको उल्लेख गर्दै उनले त्यसको श्रेय तत्कालीन नेतृत्वका रूपमा जङ्गबहादुर राणालाई दिनुपर्ने बताइन्। उनकाअनुसार जङ्गबहादुरले बेलायत भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरेका थिए। त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिश साम्राज्यबीचको सम्बन्धलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको उनले बताइन्।

    नेपाल–ब्रिटिश भारत सीमाको व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जङ्गे पिलर’हरूले सीमा स्पष्टता तथा प्रशासनिक र कुटनीतिक स्थिरतामा समेत ठूलो भूमिका खेलेको उनले उल्लेख गरिन्। पूर्वराष्ट्रपति भण्डारीले सन् १८५७ को भारतीय विद्रोह दमनमा सैन्य सहयोग गरेबापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहितको ‘नयाँ मुलुक’ फिर्ता प्राप्त गर्नु उनको शासनकालसँग जोडिएको महत्वपूर्ण राष्ट्रिय उपलब्धि भएको बताइन्।

    उनले वर्तमान नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको अवधारणा अब केवल भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा मात्र सीमित नरही लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता तथा नागरिक अधिकारको प्रवद्र्धनसँग समेत जोडिएको बताइन्।

    राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हुने उनको भनाइ थियो।

    उनले भनिन्, ‘आज राष्ट्रियताको अवधारणा भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणसँगै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारको प्रवद्र्धनसँग पनि जोडिएको छ। इतिहासका विभिन्न कालखण्डका अनुभवहरूबाट सिक्दै हामीले अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्दछ। जङ्गबहादुरको जीवन र कार्यको अध्ययनले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाउँछ।’

    उनले जंगबहादुरले नेपालमा मुलुकी ऐन बनाउन शुरुवात गरेको पनि बताइन्। राज्य सञ्चालनलाई निश्चित नियम, प्रक्रिया र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप विक्रम संवत् १९१० मा जारी गरिएको मुलुकी ऐनलाई नेपालको पहिलो कानूनी संहिताका रूपमा लिन सकिने उनको भनाई छ।

    यद्यपि उक्त ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्षहरू प्रतिबिम्बित भएको र आजको मूल्य–मान्यताका दृष्टिले ती स्वीकार्य नरहेको बताइन्। त्यसलाई सोही समयको सामाजिक संरचना, राज्य व्यवस्था र चेतनास्तरलाई समेत सँगसँगै बुझ्न आवश्यक रहेको उनको भनाइ थियो।

    भण्डारीले जङ्गबहादुरका सामाजिक सुधारसम्बन्धी प्रयासहरू पनि उल्लेखनीय रहेको बताइन्। तत्कालीन समाजमा गहिरोसँग जरा गाडेर बसेको सती प्रथालाई निरुत्साहित गर्ने पहल जङ्गबहादुरले नै गरेको उनको भनाई छ। उनले इतिहासका विभिन्न कालखण्डका अनुभवबाट शिक्षा लिँदै अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्नेमा जोड दिइन्।


    अर्थ चाैतारी
  • आइतबार, ७ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट