logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सञ्चालक समितिको मौखिक आदेशमा गुण एयरलाइन्सलाई कर्जा: सीईओ शेरचन

    सञ्चालक समितिको मौखिक आदेशमा गुण एयरलाइन्सलाई कर्जा: सीईओ शेरचन

    39
    SHARES
    सञ्चालक समितिको मौखिक आदेशमा गुण एयरलाइन्सलाई कर्जा: सीईओ शेरचन
    काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सञ्चालक समितिको मौखिक आदेशका आधारमा गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको बयान दिएका छन् । तत्काल सञ्चालक समितिको बैठक बस्न सम्भव नभएकाले ‘बोर्ड रेक्टिफिकेसन’ (पछि अनुमोदन गर्ने) सर्तमा आफूले उक्त कर्जा स्वीकृत गरेको उनले प्रस्ट पारेका हुन् । २०७८ असोज ६ गते प्रवाह गरिएको सो कर्जालाई पछि बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरिसकेको भन्दै उनले यस्तो प्रक्रिया बैंकिङ क्षेत्रको सामान्य प्रचलनभित्रै पर्ने जिकिर गरे ।
    प्रभु म्यानेजमेन्टसँग भएका विभिन्न व्यावसायिक कारोबारका विषयमा समेत सीईओ शेरचनले अख्तियारवाला निकायसमक्ष आफ्नो बयान फेरिस्त बुझाएका छन् । उनका अनुसार प्रभु म्यानेजमेन्टसँग भएका रेमिट्यान्स सम्झौताहरूमा आफ्नै दस्तखत रहेको र त्यसमा गरिएको ‘प्रिफन्डिङ’ को व्यवस्था नेपाल राष्ट्र बैंककै विनियमावली अनुसार भएको हो । प्रभु म्यानेजमेन्टको २७ करोड रुपैयाँ ‘सेटलमेन्ट’ भइसकेको जानकारी दिँदै उनले सम्झौतामा स्पष्ट रूपमा नखुलेका कारण उक्त रकममा ब्याज दाबी नगरिएको प्रस्ट पारेका छन् ।
    कर्जाको सुरक्षण (धितो) पर्याप्त रहेकाले बैंकको लगानी सुरक्षित रहेको दाबी सीईओ शेरचनको छ । ‘प्रभु म्यानेजमेन्टको नाममा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब ९ लाख कित्ता सेयर बैंकले रोक्का राखेको छ, जसको बजार मूल्य ३० करोड रुपैयाँभन्दा बढी छ,’ बयान उद्धृत गर्दै सम्बद्ध स्रोतले भन्यो, ‘बैंकको रकम असुल गर्न धितो पर्याप्त छ ।’ २०७८ असोज १३ मा प्रभु म्यानेजमेन्टलाई विभिन्न कम्पनीमा लगानी गर्नका लागि २७ करोड रुपैयाँको ‘ब्रिज ग्याप लोन’ स्वीकृत गरिएको र उक्त कर्जा व्यक्तिगत जमानी, स्थिर तथा चालू सम्पत्ति र हाइपोथिकेसन सुरक्षणका आधारमा दिइएको उनले खुलाएका छन् ।
    ऋण लगानीपछिको सदुपयोगिताबारे उठ्ने गरेका प्रश्नमाथि बचाउ गर्दै शेरचनले कर्जा प्रवाह भएपछि त्यसको खर्च कहाँ र कसरी भयो भन्ने अन्तिम जिम्मेवारी सम्बन्धित कम्पनीकै हुने उल्लेख गरे । बैंकले नियम र प्रक्रिया पुर्‍याएर मात्र ऋण दिएको उनको भनाइ छ । बयानका क्रममा उनले दिव्या सेक्युरिटिज र अन्य व्यक्तिहरूबीचको आन्तरिक आर्थिक लेनदेनमा आफ्नो वा बैंकको कुनै पनि किसिमको संलग्नता र भूमिका नरहेको प्रस्ट पारे । त्यस्तै, व्यवसायी राजेन्द्र शाक्यलाई दिइएको १५ करोड ऋण पूर्ण रूपमा चुक्ता भइसकेको र कुसुम लामाको हस्ताक्षर भएको चेक आफूले कसैलाई हस्तान्तरण नगरेको समेत उनले स्पष्ट पारेका छन् ।
    केन्द्रीय बैंकको नियमनकारी भूमिकाबारे बोल्दै सीईओ शेरचनले नेपाल राष्ट्र बैंकले निरीक्षणका क्रममा दिएका सम्पूर्ण निर्देशनहरू बैंकले पालना गरिरहेको र विवादित भनिएका कतिपय कर्जाहरू राफसाफ भइसकेको बताए । बैंकिङ प्रणालीमा दैनिक हजारौँको संख्यामा कारोबार हुने भएकाले हरेक कारोबारको भित्री उद्देश्य बैंकलाई थाहा नहुने भए पनि प्रभु बैंकले गरेका सम्पूर्ण कार्यहरू प्रक्रियागत र कानुनसम्मत रहेको दाबी उनले गरे ।

    यस्तो छ शेरचनको बयान:



    सन् २०११ मा प्रभु फाइनान्स, समृद्धि विकास बैंक र वैभव फाइनान्स मर्ज भई प्रभु विकास बैंक बनेपछि म सो बैंकको प्रमुख कार्यकारी अधिकृत भई काम गर्न थालेको हुँ। वि.सं. २०७१ मा प्रभु विकास बैंक, गौरीशंकर विकास बैंक, जेनिथ फाइनान्स र किष्ट बैंक मर्ज भई प्रभु बैंक बनेपछि म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छु।

    त्यसपछि ग्राण्ड बैंक र सेन्चुरी कमर्सियल बैंक प्रभु बैंकमा मर्ज भएका हुन्। प्रमुख कार्यकारी अधिकृतको रूपमा मेरो जिम्मेवारी अन्तर्गत बैंकको दैनिक कार्य सञ्चालन सुचारु रूपमा गर्नका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने, नेपाल सरकारका विभिन्न निकाय तथा नेपाल राष्ट्र बैंकसँग आवश्यकता अनुसार समन्वय गर्ने, सञ्चालक समिति समक्ष बैंकका विषयमा छलफल गर्ने र सेयरधनीहरूलाई वार्षिक प्रतिवेदनमार्फत बैंकका गतिविधिबारे सुसूचित गर्ने रहेका छन्। प्रमुख कार्यकारी अधिकृतको कर्जा स्वीकृत गर्ने अख्तियारी समय-समयमा सञ्चालक समितिको निर्णयले हेरफेर भइरहन्छ। प्रमुख कार्यकारी अधिकृतको कर्जा स्वीकृत गर्ने अख्तियारी हाल १ अर्ब रुपैयाँसम्म रहेको छ।

    प्रभु बैंकले विप्रेषण (रेमिट्यान्स) कारोबार गर्नका लागि धेरै एजेन्टहरूसँग सम्झौता गरेको छ। एजेन्टहरू धेरै भएको कारण मलाई सङ्ख्या र नाम ठ्याक्कै यकिन छैन। २०७२ साउन १ गते प्रभु बैंक र प्रभु म्यानेजमेन्टबीच भएको विप्रेषण सम्झौता-पत्रको प्रतिलिपिमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतका रूपमा गरिएको दस्तखत मेरै हो। २०७४ पुस १ गते प्रभु बैंक र प्रभु मनि ट्रान्सफरबीच भएको विप्रेषण सम्झौता-पत्रको प्रतिलिपिमा गरिएको दस्तखत पनि मेरै हो।

    प्रभु बैंक र प्रभु म्यानेजमेन्टबीच विप्रेषण कारोबारको सम्झौता गर्दा प्रभु बैंकले प्रभु म्यानेजमेन्टलाई प्रिफन्डिङ गर्न सक्छ। पहिले सम्झौता बमोजिम गर्ने भन्ने व्यवस्था थियो। पछि नेपाल राष्ट्र बैंकबाट जारी भएको विप्रेषण विनियमावलीले समेत विप्रेषण कारोबारका लागि एजेन्टहरूलाई प्रिफन्डिङ गर्न सक्ने व्यवस्था गरेको हो। प्रभु म्यानेजमेन्टको नाममा रहेको ‘पेएबल प्रभु म्यानेजमेन्ट’ खातामा बाँकी रहेको रकम २७ करोड रुपैयाँ पुगेको छ। प्रभु म्यानेजमेन्ट र प्रभु बैंकबीच विप्रेषण कारोबारका लागि भएको सम्झौतामा लिन/दिन बाँकी रहेको रकमको ब्याज लिने भनेर स्पष्ट नखुलाइएका कारण उक्त रकममा ब्याज नलिएको हो।

    प्रभु म्यानेजमेन्टको नाममा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको करिब ९ लाख कित्ता सेयर प्रभु बैंकले रोक्का राखेको छ। कर्जा तमसुक लगायतका कागजातहरूमा कम्पनीको तर्फबाट लेखिदिइएको र उक्त सेयरको हालको बजार मूल्य करिब ३० करोड जति रहेकाले उल्लेखित रकम असुलउपर गर्न धितो पर्याप्त छ। यदि कुनै कम्पनीसँग रकम लेनदेन रहेको अवस्थामा सम्झौता बमोजिम असुलउपर गर्न सकिन्छ। २०७८ असोज ६ गते गुण एयरलाइन्सको नाममा १५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ‘बोर्ड रेक्टिफिकेसन’ भनी प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको नाम उल्लेख भएको महलमा गरिएको दस्तखत मेरै हो। उक्त कर्जा गुण एयरलाइन्सले आफ्नो कम्पनी सञ्चालन प्रयोजनका लागि माग गरेकोमा तत्काल सञ्चालक समितिबाट निर्णय गर्न सम्भव नभएकाले सञ्चालक समितिको मौखिक आदेशअनुसार मैले दस्तखत गरी स्वीकृत गरेको हुँ। सो पश्चात् लगत्तै बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त कर्जालाई अनुमोदन गरेको छ। यसरी सञ्चालक समितिको बैठक तत्काल बस्न सम्भव नभएको अवस्थामा समितिलाई मौखिक जानकारी गराई सञ्चालक समितिको आदेशानुसार प्रमुख कार्यकारी अधिकृतले स्वीकृत गर्ने प्रचलन रहेको छ।

    कुनै ऋणीबाट लिने ब्याज र सेवा शुल्कको सम्बन्धमा सञ्चालक समितिले निर्णय गरी थपघट गर्न सक्छ। उक्त कुरा सञ्चालक समितिको निहित अधिकार हो। गुण एयरलाइन्स प्रभु बैंकको नियमित ऋणी हो र प्राइम बैंकसँगको सहकार्यमा उक्त कम्पनीलाई अन्य कर्जा समेत प्रवाह गरिएको छ। बैंकबाट कर्जा प्रवाह भएपछि सो कर्जा उद्देश्यअनुरूप प्रयोग भए/नभएको सम्बन्धमा बैंकको सम्बन्धित विभाग (कर्जा विभाग) बाट आन्तरिक नीति तथा कार्यविधि अनुसार निरीक्षण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिने गरिन्छ। कर्जा दुरुपयोग हुनु हुँदैन। कर्जाको उद्देश्यअनुरूप प्रयोग गर्ने मुख्य दायित्व ऋणीकै हो। बैंकबाट धेरै कर्जाहरू प्रवाह हुने भएकाले कार्यकारी प्रमुखको हैसियतले सबै कर्जाको सदुपयोगिताको सूक्ष्म निगरानी गर्न सम्भव हुँदैन।
    प्रभु म्यानेजमेन्टको खातामा रकम जम्मा भएको सम्बन्धमा सोही कम्पनीलाई जानकारी हुनुपर्ने हो। प्रभु म्यानेजमेन्टको खातामा रकम जम्मा भएपछि सो कम्पनीले बैंकलाई तिर्नुपर्ने बाँकी रकम सेटल गरिएको हो। गुण एयरलाइन्स, प्रभु मनि ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीचको कारोबारको विषयमा मलाई जानकारी हुने कुरा भएन। प्रभु म्यानेजमेन्ट र दिव्य सेक्युरिटिजबीच रकम लेनदेन भएको सम्बन्धमा सो कम्पनीका सञ्चालकहरूलाई नै जानकारी होला।

    २०७८ असोज १३ गते प्रभु म्यानेजमेन्टको नाममा २७ करोड रुपैयाँ विभिन्न कम्पनीमा लगानी गर्न ‘ब्रिज ग्याप’ लोन स्वीकृत भई कर्जा प्रवाह भएको हो। सो क्रममा गरिएको दस्तखत मेरै हो। उक्त प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूको बारेमा हाल मलाई सम्झना भएन। प्रभु म्यानेजमेन्टको नाममा उक्त कर्जा स्वीकृत गर्दा सम्पूर्ण ऋण रकम बराबरको सेयरधनीहरूको व्यक्तिगत जमानी, कर्जा तमसुक र प्रतिज्ञा पत्र लिइएको छ। ऋणी कम्पनीसँग रहेको स्थिर तथा चालू सम्पत्तिमा प्रथम हकदाबी सहित (कर्जा सूचना केन्द्रमा ऋणी कम्पनीले उठाउन बाँकी उधारो रकममा हाइपोथिकेसन सुरक्षण) रहेको छ। प्रभु म्यानेजमेन्टलाई दिइएको २७ करोड रुपैयाँ कर्जा विभिन्न क्षेत्रमा लगानी गर्नका लागि दिइएको हो र उक्त कर्जाको नियमानुसार ब्याज लिने गरिएको छ।

    प्रभु बैंकले २०८१ असार १४ मा नेपाल बीमा प्राधिकरणलाई पत्र लेखी प्रभु म्यानेजमेन्टको नाममा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ लाख कित्ता संस्थापक सेयर रोक्काका लागि अनुरोध गरेको हो। प्रभु बैंकले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रभु म्यानेजमेन्टले लगानी गरेको ७ लाख कित्ता र बोनस सेयर समेत गरी जम्मा ९ लाख १३ हजार ९६.८० कित्ता सेयर धितो रहेको जानकारी पत्रमार्फत गराएको हो। २०७८ असोज १३ गते प्रभु म्यानेजमेन्टले खाताबाट रकम कट्टा गर्न दिएको अख्तियारनामा सम्पूर्ण कर्जा रकम बैंकलाई चलाउनका लागि दिइएको होइन।

    कर्जाको साँवा, ब्याज, किस्ता र प्रोसेसिङ/व्यवस्थापन शुल्कको रकम बैंकले ट्रान्सफर गरी लिनका लागि प्रभु म्यानेजमेन्टसँग बैंकले अख्तियारनामा लिएको हो। ऋणीले आफ्नो खातामा जम्मा भएको रकम ट्रान्सफर गर्नका लागि खाता नं. र खातावालाको नाम उल्लेख गरी अख्तियारनामा दिएमा ट्रान्सफर गर्न सकिन्छ। भविष्यमा सिर्जना हुने ऋणीको सम्पत्तिमा समेत बैंकले तमसुक लगायतका कागजातहरूमा कानुन बमोजिम दाबी राखी असुलउपर गर्न सक्ने विकल्प खुला राखेको हुन्छ; यस किसिमको अभ्यास बैंकले गर्दै आएको छ।

    प्रभु म्यानेजमेन्टलाई विभिन्न कम्पनीहरूमा लगानी गर्न उसको माग बमोजिम सबै कागजातहरू हेरेर कर्जा स्वीकृत गरिएको हो। कर्जा प्रवाह भएपछि सो रकम कहाँ र कसरी खर्च गर्ने भन्ने जिम्मेवारी सम्बन्धित कम्पनीकै हो।

    बैंकमा दैनिक रूपमा हजारौँ कारोबारहरू हुने भएकाले कुन कम्पनीको खाताबाट कुन कम्पनीको खातामा के प्रयोजनका लागि कारोबार भएको हो भन्ने कुरा बैंक (सीईओ) लाई सबै थाहा हुँदैन। मैले दिव्या सेक्युरिटिजका रामप्रसाद आचार्यलाई प्रभु म्यानेजमेन्टको नाममा रकम जम्मा गर्न भनेको छैन। दिव्या सेक्युरिटिज र प्रभु म्यानेजमेन्टबीचको लेनदेनको कुरामा मलाई जानकारी हुने कुरा भएन। प्रभु बैंकका पुराना ग्राहक राजेन्द्र शाक्यलाई प्रवाह भएको १५ करोड रुपैयाँ कर्जा चुक्ता भइसकेको छ। राजेन्द्र शाक्य र प्रभु म्यानेजमेन्टबीचको कारोबारका बारेमा मलाई जानकारी छैन। मैले कुसुम लामाको दस्तखत भएको प्रभु म्यानेजमेन्टको १५ करोड रुपैयाँको चेक राजेन्द्र शाक्यलाई दिएको छैन। ऋणीको माग बमोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरेर नै कर्जा प्रवाह भएको हो।

    रेमिट्यान्स रकमलाई नेपालका दूरदराजमा पुर्‍याउनका लागि बैंकका शाखाहरू मात्र पर्याप्त नहुने भएकाले त्यस्ता कम्पनीहरूसँग सम्झौता गरी कारोबार गरिएको हो। उक्त कम्पनीसँग बाँकी बक्यौता केही लिनुपर्ने भएमा बैंकले रोक्का राखेको ९ लाख कित्ता सेयर बिक्रीबाट असुलउपर गर्न सकिन्छ। नेपाल राष्ट्र बैंकले निरीक्षणका क्रममा दिएका निर्देशनहरू बैंकले कार्यान्वयन गरिरहेको छ। उल्लेखित कर्जाहरूमध्ये कतिपय चुक्ता भइसकेका छन् भने कतिपयको हकमा निर्देशन बमोजिम प्रक्रिया अघि बढिसकेको छ।


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट