logo

२०८३ असार २५, विहिबार

logo
  • २०८३ असार २५, विहिबार
  • सेयर बजारको मन्दीप्रति धितोपत्र बोर्डको चासो: आगामी साता ‘मार्गचित्र’ ल्याउने, हल्लाको पछि नलाग्न आग्रह

    सेयर बजारको मन्दीप्रति धितोपत्र बोर्डको चासो: आगामी साता ‘मार्गचित्र’ ल्याउने, हल्लाको पछि नलाग्न आग्रह

    234
    SHARES
    सेयर बजारको मन्दीप्रति धितोपत्र बोर्डको चासो: आगामी साता ‘मार्गचित्र’ ल्याउने, हल्लाको पछि नलाग्न आग्रह

    काठमाण्डौ । नेपालको सेयर बजारमा पछिल्लो समय देखिएको निरन्तरको गिरावट र लगानीकर्ताहरूको बढ्दो गुनासोप्रति पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजारमा देखिएका अन्योल चिर्न र लगानीकर्ताको हित संरक्षण गर्न बोर्डले आगामी साता समयबद्ध कार्ययोजनासहितको विस्तृत ‘पुँजी बजार विकास मार्गचित्र’ ल्याउने घोषणा गरेको हो।



    बोर्डका प्रवक्ता निरञ्जय घिमिरेद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार बजारका वर्तमान समस्या समाधान गर्न बोर्डले आन्तरिक रूपमा गम्भीर गृहकार्य गरिरहेको छ। आगामी साता सार्वजनिक गरिने उक्त मार्गचित्रलाई तत्कालै कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिँदै बोर्डले पुँजी बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन नीतिगत सुधारका कार्यहरू समेत अगाडि बढाइसकिएको प्रस्ट पारेको छ।

    बजार सुधारकै सिलसिलामा बोर्डले अनुमति प्राप्त धितोपत्र व्यवसायी लगायत सम्बद्ध संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनका लागि दिइएका निर्देशनहरू तोकिएको समयमै सम्पादन गराउन कडाइ गर्ने भएको छ। त्यसैगरी, धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया (आईपीओ) र नियमन व्यवस्थालाई थप चुस्त एवं व्यवस्थित बनाउन कानुनी सुधारको प्रक्रिया पनि थालिएको बोर्डले जनाएको छ।

    यसअन्तर्गत विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका महत्त्वपूर्ण कानुनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन गर्ने कार्य प्रारम्भ भइसकेको विज्ञप्तिमा उल्लेख छ।

    बजार एकपछि अर्को गर्दै निरन्तर रूपमा घट्दै गएको अवस्थाप्रति सङ्केत गर्दै नियामक निकायले लगानीकर्ताहरूलाई विशेष सचेतता अपनाउन आग्रह गरेको छ। बोर्डले बजारमा चल्ने विभिन्न खाले हल्ला, बहकाउ तथा अफवाहको पछि नलाग्न ध्यानाकर्षण गराएको हो। लगानीकर्ताहरूले कुनै पनि निर्णय लिनुअघि आफैँले स्वअध्ययन तथा विश्लेषण गर्नुपर्ने र आफ्नो जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यानमा राखेर मात्र सुझबुझपूर्ण तरिकाले सेयर बजारमा लगानीसम्बन्धी निर्णय लिन बोर्डले अनुरोध गरेको छ। लगानीकर्ताको हित संरक्षणलाई आफूले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दाबी समेत बोर्डको छ।

    बिहीबारको कारोबारमा बजार परिसूचक नेप्से घट्दै गएर २६ सय अंकको हाराहारीमा झरेपछि धितोपत्र बोर्डले यस्तो विज्ञप्ति जारी गर्नुलाई वित्तीय वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। नयाँ सरकार गठन भएपछि सुरुवाती १०० दिनसम्म औपचारिक भेटघाटलाई निकै कडाइ गरेका प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय निजी क्षेत्रको मनोबल बढाउने उद्देश्यसहित उद्यमी व्यवसायीहरूसँगको संवादलाई तीव्र पारेका छन्।

    सरकारले अर्थतन्त्र चलायमान बनाउन प्रयास गरिरहे पनि सेयर बजारमा भने लगातार ओरालो लाग्ने क्रम नरोकिँदा लगानीकर्तामा देखिएको चरम अविश्वास माझ नियामकको यो आश्वासन बाहिर आएको हो।


    अर्थ चाैतारी
  • विहिबार, २५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट